
बारा , ११ जेठ
पत्रकारिता क्षेत्रमार्फत निष्पक्ष सूचना प्रवाह, सामाजिक उत्तरदायित्व तथा जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका सञ्चारकर्मी मानिकचन साहलाई प्रेस मञ्च नेपालले महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ।
भावानी मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित baradainik.com का सञ्चालक तथा साझा निगरानी राष्ट्रिय दैनिक का प्रकाशक साहलाई प्रेस मञ्च नेपाल, मधेश प्रदेश कार्य समितिले बारा जिल्ला संयोजक पदमा मनोनित गरेको हो।
पत्रकारितामार्फत समाजका आवाजलाई बुलन्द गर्दै आएका साहको सक्रियता, निष्पक्षता र सञ्चार क्षेत्रप्रतिको समर्पणको कदर गर्दै संगठनले उनलाई उक्त जिम्मेवारी दिएको बताइएको छ। प्रेस मञ्च नेपाल मधेश प्रदेश कार्य समितिका अध्यक्ष अमरेन्द्र कुमार यादवद्वारा जारी गरिएको पत्रमा जिल्लामा संगठन विस्तार, समाचार सम्प्रेषण तथा संगठनात्मक गतिविधिको समन्वय गर्ने जिम्मेवारी तोकिएको उल्लेख छ।
साह लामो समयदेखि बारा जिल्लामा पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका छन्। उनले स्थानीय जनताका समस्या, सामाजिक विकृति, विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा सीमावर्ती क्षेत्रका गतिविधिलाई प्राथमिकताका साथ समाचारमार्फत उजागर गर्दै आएका छन्।
उनको मनोनयनप्रति सञ्चारकर्मी, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूले खुसी व्यक्त गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। साहको नेतृत्वमा पत्रकारहरूको हकहित संरक्षण, प्रेस स्वतन्त्रताको सुदृढीकरण तथा सत्य पत्रकारिताको पक्षमा अझ प्रभावकारी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरिएको छ।
नयाँ जिम्मेवारीप्रति प्रतिक्रिया दिँदै साहले पत्रकारिताको मूल मर्म, व्यावसायिक मर्यादा तथा सत्य सूचनाको प्रवाहलाई केन्द्रमा राखेर संगठनलाई सक्रिय र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।



