रौतहटमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष स्थापना
रौतहट ,६ असोज
नजिकिँदै गरेका दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जिल्लाका विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वका बेला हुने सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्न, यात्रुहरूको चापलाई सहज व्यवस्थापन गर्न र उनीहरूका गुनासो सुन्न तथा समाधान गर्नका लागि यी सहायता कक्षहरू स्थापना गरिएको हो ।
सेवाग्राहीलाई सहजता
यात्रुहरूलाई सहज यात्राको वातावरण बनाउन र कुनै पनि समस्या परे तत्कालै समाधान गर्न सकियोस् भन्ने उद्देश्यका साथ प्रमुख राजमार्ग तथा जिल्लाका मुख्य बजार सदरमुकाम गौर क्षेत्रमा सहायता कक्षहरू सञ्चालनमा ल्याइएका छन् । यी सहायता कक्षमा ट्राफिक प्रहरी सहित नेपाल प्रहरीको टोली समेत खटिनेछन् । उनीहरूले यात्रुलाई सुरक्षित यात्राको लागि परामर्श दिने, सवारी साधनमा तोकिएकोभन्दा बढी भाडा लिएको गुनासो आएमा कारबाही गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई नियन्त्रण गर्ने र लामो दूरीका सवारी चालकहरूको स्वास्थ्य जाँचमा सहयोग गर्ने जस्ता काम गर्नेछन् ।यात्रुको सुरक्षा पहिलो प्राथमिकता
चाडपर्वको समयमा यात्रुहरूको संख्यामा उल्लेख्य वृद्धि हुने हुँदा यात्रुहरूलाई टिकट नपाउने, बढी भाडा तिर्नुपर्ने तथा अन्य विभिन्न किसिमका समस्याहरू आउन सक्छन् । यसलाई मध्यनजर गर्दै यात्रुहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले बताए । उनले कुनै पनि समस्या परेमा नजिकको ट्राफिक प्रहरीलाई सम्पर्क गर्न पनि यात्रुहरूलाई आग्रह गरे ।
यी सहायता कक्षले यात्रुहरूको यात्रालाई सुरक्षित र सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको हो ।