बारा, ०९ फागुन
आदरणीय सबैमा नमस्कार व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार इन्जिनियर अरबिन्द साहले चुनावी वातावरण बिगार्ने र आपसी एकता भङ्ग गर्ने कुनै पनि गतिविधिमा नलाग्न आग्रह गरेका छन्।
उनले केही तत्वहरूले चुनावको माहोल बिगार्न तथा समाजमा अनावश्यक वादविवाद सिर्जना गर्न विभिन्न प्रपञ्च गरिरहेको भन्दै त्यसबाट सचेत रहन सबैलाई अनुरोध गरे। “हामी बीचको एकतालाई तोड्ने प्रयास गर्नेहरूसँग बच्न आवश्यक छ। अनावश्यक वादविवादमा अल्झिनु हुँदैन,” उनले भने।
इन्जिनियर साहका अनुसार अहिलेको अवस्थामा जनता स्पष्ट रूपमा परिवर्तन चाहिरहेको अवस्था छ। जनताको यो चाहनालाई कमजोर बनाउने कुनै पनि षड्यन्त्र नगर्न उनले प्रपञ्च गर्ने पक्षहरूलाई समेत आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहेका साहले स्वच्छ, शान्त र मर्यादित निर्वाचन नै लोकतन्त्रको आधार भएको उल्लेख गर्दै सबै राजनीतिक दल, कार्यकर्ता र मतदातालाई संयम र सहकार्यको बाटो अपनाउन अपिल गरेका छन्।
उनले अन्त्यमा भने, “जनताको मत नै परिवर्तनको शक्ति हो। त्यसैले शान्त वातावरणमा निष्पक्ष चुनाव सम्पन्न गराउन सबैको जिम्मेवारी उत्तिकै महत्वपूर्ण रहेको छ।