बारा, १२ फागुन
जनअधिकार पार्टीबाट बारा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सञ्जय सहनीले आफ्नो जित सुनिश्चित हुँदै गएकाले अन्य पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो चुनावी पर्चा–पम्प्लेट च्यात्ने कार्य गरिरहेको दाबी गरेका छन्।
सोमबार कलैया उपमहानगरपालिका वडा नम्बर १४ मा घरदैलो अभियान तथा मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने क्रममा सहनीले यस दैनिकसँग कुरा गर्दै यस्तो बताएका हुन्। उनले जनताको बढ्दो समर्थन देखेर प्रतिस्पर्धी पक्ष आत्तिन थालेको र त्यसकै परिणामस्वरूप प्रचार सामग्री नष्ट गर्ने जस्ता गतिविधि भइरहेको आरोप लगाए।
उम्मेदवार सहनीले आफू ‘जेन–जी’ पुस्ताको प्रतिनिधि भएको उल्लेख गर्दै जेन–जीका आवाज, चाहना र आवश्यकतालाई सदनसम्म पुर्याएर कार्यान्वयन गराउन दृढ रहेको बताए। उनका अनुसार अन्य पार्टीका अधिकांश उम्मेदवार ५० वर्ष नाघिसकेका भएकाले उनीहरू निर्वाचित भए जेन–जी पुस्ताको मर्म, सोच र भविष्यका आवश्यकता बुझ्न नसक्ने दाबी गरे।
चुनावी अभियानका क्रममा सहनीले आफू निर्वाचित भए शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे। साथै, नेपालभित्र रहेका कलकारखानामा नेपाली युवालाई रोजगारीमा प्रोत्साहन गर्ने, स्वदेशी उत्पादनलाई संरक्षण र प्रवर्द्धन गर्ने नीतिमा आफू दृढ रहने बताए।
घरदैलो अभियानमा सहनीले युवाहरूमा बढ्दो बेरोजगारी, गुणस्तरीय शिक्षाको अभाव, सुलभ स्वास्थ्य सेवाको कमी र कृषिमा लागत वृद्धि जस्ता समस्याबारे स्थानीयसँग छलफल गरेका थिए। भेटघाटका क्रममा धेरै युवाले नयाँ सोच, नयाँ नेतृत्व र पुस्तान्तरणको आवश्यकता औँल्याउँदै सहनीप्रति सकारात्मक धारणा व्यक्त गरेको उनको भनाइ छ।
सहनीले चुनावी प्रतिस्पर्धा स्वस्थ, मर्यादित र शान्तिपूर्ण हुनुपर्नेमा जोड दिँदै प्रचार सामग्री नष्ट गर्ने जस्ता गतिविधि लोकतान्त्रिक मूल्यविपरीत भएको टिप्पणी गरे। उनले प्रशासन र सरोकारवाला निकायलाई निष्पक्ष वातावरण सुनिश्चित गर्न समेत आग्रह गरेका छन्।