मधेशसमाचार

स्प्राइटको बोतलमा राखिएको डिजेल सेवन गर्दा ४ वर्षीय बालक बिरामी

बारा, ०५ असार
बाराको सुवर्ण गाउँपालिका–६ मुसहर्ना निवासी एक ४ वर्षीय बालकले खेल्ने क्रममा डिजेल सेवन गर्दा बिरामी भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार स्थानीय महेबुब अंसारीका छोरा साहेब आलमले घरमा स्प्राइटको बोतलमा राखिएको डिजेल झुक्किएर सेवन गरेका थिए। डिजेल सेवन गरेपछि बालक अचानक बिरामी भएपछि परिवारले तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याएका थिए।
हाल बालकको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार बालकको अवस्था मध्यम रहेको बताइएको छ। घटनाको समयमा बालककी आमा साथमै रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
घटनाबारे बिहिबार बिहान करिब १०ः३५ बजे प्रादेशिक अस्पताल कलैयामार्फत प्रहरी चौकी तेलकुवालाई जानकारी प्राप्त भएपछि प्रहरी बलहकदार बाल किशोर कुँवरको कमाण्डमा टोली खटिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान तथा बुझ्ने कार्य भइरहेको जनाएको छ।
सामान्य प्रयोगका पेय पदार्थका बोतलमा डिजेल, पेट्रोलजस्ता ज्वलनशील पदार्थ राख्ने प्रवृत्तिले यस्ता दुर्घटना बढ्ने जोखिम रहने भएकाले सचेत रहन सरोकारवालाले आग्रह गरेका छन्। विशेषगरी बालबालिकाको पहुँचभन्दा टाढा यस्ता पदार्थ सुरक्षित रूपमा राख्नुपर्ने आवश्यकता औँल्याइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button