
बारा , ०७ असार
बाराको सिम्रौनगढ क्षेत्रमा तस्करी नियन्त्रणका नाममा प्रहरीकै संलग्नतामा घुमुवामार्फत अवैध असुली भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढ मातहतका विभिन्न सीमा नाकाहरूमा अघोषित रूपमा घुमुवा परिचालन गरी तस्करीलाई संरक्षण दिइएको र मासिक रूपमा रकम असुली हुने गरेको आरोप स्थानीय तथा स्रोतहरूले लगाएका छन्।
स्रोतका अनुसार प्रहरी जवान छोटेलाल पटेललाई घुमुवाको रूपमा खटाई काचोर्वा, खजानी, श्रीनगर बैरिया, बसवरीया, पथलवाघाट, बेलदारी, सतुवाही, पिपरपाती लगायतका नाकाहरूमा हुने अवैध कारोबारबाट नियमित असुली गरिँदै आएको दाबी गरिएको छ।
स्थानीयहरूले घरायसी सामान बोकेका सर्वसाधारणलाई चेकजाँचको नाममा अनावश्यक दुःख दिने तर तस्करी समूहसँग भने ‘मासिक सेटिङ’ मिलाई निर्वाध कारोबार गर्न छुट दिइएको गम्भीर आरोप लगाएका छन्।
त्यस क्रममा हार्डवेयर, कपडा, मल, धानदेखि लिएर कस्मेटिक सामानसम्म भारतबाट अवैध रूपमा भित्रिने गरेको तथा नेपालबाट रक्सी, कबाड लगायतका सामग्री पनि भारततर्फ तस्करी हुने गरेको स्रोतको दाबी छ।
लागुऔषध नियन्त्रण अभियान चलिरहेकै अवस्थामा समेत सिम्रौनगढ नाकाबाट गाँजा लगायतका लागू पदार्थको अवैध ओसारपसारमा समेत संलग्नता रहेको आरोपसमेत स्रोतहरूले लगाएका छन्।
स्रोतका अनुसार घुमुवा परिचालनमार्फत उठाइने रकम इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहसम्म पुग्ने गरेको दाबी गरिएको छ। निरीक्षक साह र केही तस्कर समूहबीचको मिलेमतोका कारण अवैध कारोबार नियन्त्रणभन्दा बाहिर गएको स्थानीयहरूको आरोप छ।
घुमुवा पटेल विगत करिब तीन वर्षदेखि सिम्रौनगढ क्षेत्रमा सक्रिय रहेको र केही समय संगठनभित्रको आन्तरिक गुनासोपछि हटाइए पनि पुनः सोही जिम्मेवारीमा फर्किएको बताइएको छ।
यसअघि मधेश प्रदेश प्रहरी कार्यालयले घुमुवा गतिविधिमा संलग्न प्रहरीहरूलाई कारवाही गर्दै सरुवा गर्ने अभ्यास गरे पनि सिम्रौनगढमा भने प्रभावकारी कदम नचालिएको स्थानीयको आरोप छ।
यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा प्रहरी निरीक्षक साहसँग भएको सरकारी नम्बर ९८५५०४५२९९ मा सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन।
स्थानीयवासीले तस्करी नियन्त्रणका नाममा भएको भनिएको यस्तो गतिविधिबारे निष्पक्ष छानबिन गरी उच्चस्तरीय अनुसन्धानमार्फत दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।



