मधेशसमाचार

ओभरटेक गर्ने क्रममा बस दुर्घटना हुँदा ११ घाइते, एकको अवस्था गम्भीर

बारा, ०७ असार

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१० स्थित नितनपुर चोकमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वीरगञ्जबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको ना ७ ख २३५ नम्बरको बस वीरगञ्ज–पथलैया सडकखण्ड अन्तर्गत नितनपुर चोकमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटना बिहान करिब ११ बजे भएको बताइएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश नरौलाको कमाण्डमा ५ जना, इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीको कमाण्डमा ५ जना तथा सशस्त्र प्रहरी सुरक्षा बेस जितपुर बकुलियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विश्व योन्जको नेतृत्वमा ८ जनाको टोली घटनास्थल पुगेको थियो। सुरक्षाकर्मीहरूले घाइतेहरूको तत्काल उद्धार गरी विभिन्न अस्पताल पठाएका थिए।
प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ। नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचाररत घाइतेहरूमा सप्तरी तिलाठी कोईलाडी गाउँपालिका–१ का ४२ वर्षीय कमलेश यादव, उनकी श्रीमती ३४ वर्षीया रुबी यादव, १५ वर्षीया छोरी शिवानी यादव, वीरगञ्ज महानगरपालिका–१३ का ६४ वर्षीय रामनरेश प्रसाद, सहचालक सप्तरी कञ्चनरुप नगरपालिका–१ का ४७ वर्षीय नरेश पंजियार, पर्साको पकाहा मैनपुर गाउँपालिका–५ का २८ वर्षीय धनञ्जय प्रसाद चौरसिया तथा बहुदरमाई नगरपालिका–२ निवासी सुनिता यादव रहेका छन्।
त्यसैगरी सिराहाको कर्जन्हा नगरपालिका–११ निवासी ६२ वर्षीय चिनीलाल श्रेष्ठको छातीमा गम्भीर चोट लागेको र उनको तराई अस्पताल वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अन्य केही घाइतेहरू सामान्य उपचारपछि आफ्नै गन्तव्यतर्फ गएको जनाइएको छ। दुर्घटनापछि बसलाई घटनास्थलबाट हटाई इलाका प्रहरी कार्यालय सिमरातर्फ पठाइएको छ भने सडक सञ्चालनमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।
बस चालक भने दुर्घटनापछि फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button