मधेशसमाचार

सरकार फेरियो, नारा फेरियो तर यातायात कार्यालय बिरगंज शाखा घुसको अवस्था उस्तै – सर्वसाधारण

पर्सा, ०९ चैत

जेनजी आन्दोलनपछि मुलुकको सरकार परिवर्तन भएसँगै विभिन्न सरकारी कार्यालयमा सुधार हुने अपेक्षा गरिए पनि वीरगंजस्थित यातायात व्यवस्था कार्यालयमा घुस प्रथा अझै यथावत रहेको भन्दै सर्वसाधारणले गम्भीर असन्तुष्टि व्यक्त गर्न थालेका छन् । सेवा लिन आउने सेवाग्राहीहरूका अनुसार सुधारको अपेक्षा गरिएको यो कार्यालयमा पुरानै शैलीमा आर्थिक लेनदेन र बिचौलियाको प्रभाव कायम रहेको आरोप सार्वजनिक रूपमा उठ्न थालेको छ ।

स्थानीय सेवाग्राही तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियो र सामग्रीका आधारमा यातायात व्यवस्था कार्यालय वीरगंज, पर्सा शाखामा चालक अनुमतिपत्र तथा अन्य सेवामा आर्थिक लेनदेन हुने गरेको दाबी गरिएको छ । कार्यालय प्रमुख कुशेस्वर प्रसाद साहका विश्वासिला पात्र मानिएका ट्रयाल प्रमुख रामसुन्दर महतोको मार्फत रकम संकलन हुने गरेको भन्दै विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । यद्यपि, यस विषयमा आधिकारिक रूपमा सम्बन्धित कार्यालयबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको छैन ।

करिब तीन दशकभन्दा बढी समयदेखि यातायात क्षेत्रमा बिचौलिया र घुस प्रथाको समस्या रहेको भन्दै सर्वसाधारणले सरकार परिवर्तनपछि यसको अन्त्य हुने आशा गरेका थिए । तर हालसम्म ठोस सुधार नदेखिएको गुनासो बढ्दै गएको छ । सेवाग्राहीहरू भन्छन्, “सरकार फेरियो, नारा फेरियो, तर कार्यालयको अवस्था उस्तै छ । सेवाका लागि घुस नदिई काम नहुने अवस्था कायमै छ ।”

यता, भ्रष्टाचार नियन्त्रण तथा छानबिनको जिम्मेवारी पाएको निकायले सार्वजनिक रूपमा आएका भिडियो र आरोपबारे हालसम्म कुनै स्पष्ट कदम नचालेको भन्दै नागरिकस्तरमा प्रश्न उठ्न थालेको छ । सम्बन्धित निकायले समयमै अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग स्थानीय बासिन्दाहरूले गरेका छन् । यदि आरोप गलत भए सम्बन्धित अधिकारीलाई सफाइ दिन र यदि सत्य भए कानुनी कारबाही गर्न ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ ।

सामाजिक अभियन्ताहरूले पनि सार्वजनिक रूपमा आएका सामग्रीमाथि निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन् । सरकारी कार्यालयमा हुने कुनै पनि प्रकारको घुस प्रथा र अनियमितता मुलुकको सुशासन र नागरिक विश्वासमाथि सीधा प्रहार हुने भएकाले यस विषयमा सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने उनीहरूको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button