मधेशसमाचार

वन तस्कर कि गलत पहिचान? रौतहटको वन क्षेत्रमा भएको झडपबारे नयाँ तथ्य सार्वजनिक

रूपेश यादव

रौतहट, २१ जेठ

रौतहटको वन क्षेत्रमा सोमबार राति भएको भनिएको ‘वन तस्कर आक्रमण’ प्रकरणले नयाँ मोड लिएको छ। प्रारम्भिक रूपमा डिभिजन वन कार्यालय रौतहटले काठ तस्करको समूहले वनगस्ती टोलीमाथि आक्रमण गरेको दाबी गरे पनि घटनामा संलग्न भनिएका स्थानीयले आफूलाई वनकर्मी नभई लुटेरा समूहले घेरेको ठानेर प्रतिकार गरेको बताएका छन्। यससँगै घटनाको वास्तविकता र प्रारम्भिक दाबीमाथि प्रश्न उठ्न थालेको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा गुजरा नगरपालिका–२ मैढाका स्थानीय राजकिशोर साहले आफूमाथि अन्यायपूर्वक वन तस्करको आरोप लगाइएको दाबी गर्दै घटनाको आफ्नो पक्ष सार्वजनिक गरेका छन्। उनका अनुसार सोमबार राति करिब ११ बजे मैढाबाट चन्द्रनिगाहपुरस्थित घर फर्किने क्रममा जंगल क्षेत्रको बाटोमा केही व्यक्तिले टर्च बालेर उनको मोटरसाइकल रोकेका थिए। “उनीहरूले कहाँबाट आयौ, कहाँ जाँदैछौ भनेर सोधे। मैले सबै जानकारी दिएँ। तर त्यसपछि तिमी काठ तस्कर हौ भन्दै धम्क्याउन थाले,” साहले भने, “उनीहरूले आफू वनकर्मी भएको स्पष्ट परिचय दिएनन्। कसैले वर्दी लगाएको थिएन, सरकारी गाडी पनि देखिएन। त्यसैले म झन् सशंकित भएँ।”
वैदेशिक रोजगारीबाट वैशाख १ गते मात्र घर फर्किएका साहले घटनाको समयमा आफूले घाँटीमा सुनको सिक्री, हातमा ब्रासलेट र औंठी लगाएको बताएका छन्। “मलाई लुट्न खोजिएको हो कि भन्ने डर लाग्यो। रातको समय, जंगलको बाटो र अपरिचित व्यक्तिहरूले घेरिएपछि जोसुकै पनि डराउँछ,” उनले भने। उनका अनुसार आफू त्यहाँबाट निस्किन खोज्दा मोटरसाइकल रोक्ने प्रयास गरिएको थियो। त्यस क्रममा मोटरसाइकल लड्दा भाइजर फुटेको र आफूलाई रोक्ने व्यक्तिहरू सरकारी कर्मचारी हुन् भन्ने जानकारी अझैसम्म नभएको उनको दाबी छ।
साहले तत्काल गाउँमा फोन गरेर सहयोग मागेपछि घटनास्थलमा दुई जना स्थानीय पुगेका थिए। त्यसपछि स्थिति थप तनावपूर्ण बनेको बताइएको छ। मोटरसाइकलको चाबी फिर्ता नदिएको विषयलाई लिएर दुवै पक्षबीच विवाद चर्किँदै हात हालाहालको अवस्था सिर्जना भएको साहले बताएका छन्। झडपका क्रममा दुवै पक्षका व्यक्तिहरू घाइते भएका छन् भने साह स्वयंको दाहिने खुट्टामा चोट लागेको बताइएको छ।
यता घटनाबारे डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर र रंगपुर साझेदारी वन व्यवस्थापन समितिको भनाइ भने फरक रहेको छ। कार्यालयका अनुसार वन क्षेत्रमा काठ चोरी भइरहेको सूचनाका आधारमा संयुक्त गस्ती टोली परिचालन गरिएको थियो। सोही क्रममा शंकास्पद गतिविधि देखिएपछि टोलीले केही व्यक्तिलाई रोक्न खोज्दा उनीहरूले उल्टै आक्रमण गरेका थिए। झडपमा सहायक वन अधिकृत राजकुमार चौधरी, वन रक्षक सुरेन्द्र चौधरी, रंगपुर साझेदारी वन उपभोक्ता समितिका सदस्य अर्जुन चौधरी र विमल थापा तथा गस्ती गाडी चालक अरविन्द पटेल घाइते भएका छन्।
तर घटनालाई सुरुमा प्रचार गरिएजस्तो ‘वन तस्करको संगठित आक्रमण’ भन्न सकिने आधार अहिलेसम्म स्पष्ट रूपमा स्थापित हुन नसकेको संकेत स्वयं वन कार्यालयले दिएको छ। डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले वन कर्मचारीमाथि आक्रमण भएको पुष्टि गरे पनि घटनामा संलग्न व्यक्तिहरू वन तस्कर नै हुन् भन्ने ठोस प्रमाण हालसम्म फेला नपरेको बताएका छन्। उनले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दर्ता गरिएको जानकारी दिए।
घटनाबारे इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अनुसन्धान जारी रहेको जनाएको छ। प्रहरीका अनुसार दुवै पक्षका भनाइ र उपलब्ध प्रमाणका आधारमा घटनाको वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको छ। अर्कोतर्फ स्थानीय राजकिशोर साहले पनि आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै वनकर्मीविरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरिरहेको बताएका छन्।
यस घटनाले वन सुरक्षाको नाममा सञ्चालन हुने गस्तीको कार्यशैली, परिचय खुलाउने प्रक्रिया र स्थानीय नागरिकसँगको व्यवहारबारे गम्भीर प्रश्न उठाएको छ। यदि वनकर्मीहरू सरकारी जिम्मेवारीअनुसार खटिएका थिए भने उनीहरूले परिचय खुल्ने वर्दी वा परिचयपत्र किन प्रयोग गरेनन्? र यदि स्थानीयले उनीहरूलाई लुटेरा ठानेका हुन् भने त्यसको कारण के थियो? यी प्रश्नहरूको उत्तर अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ।
हालका लागि रौतहटको यो घटना वन तस्करी नियन्त्रणको प्रयास र स्थानीय नागरिकको सुरक्षाबोधबीचको टकरावका रूपमा देखिएको छ। सत्य के हो भन्ने निष्कर्ष अनुसन्धानको अन्तिम प्रतिवेदनले दिनेछ, तर प्रारम्भिक तथ्यहरूले यो घटना योजनाबद्ध वन तस्करको आक्रमणभन्दा पनि गलत पहिचान, अविश्वास र समन्वय अभावका कारण उत्पन्न भएको हुन सक्ने संकेत गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button