
बारा , ०७ मंसिर
बाराको कलैया उपमहानगरपालिका–१४ भौरास्थित खेल मैदानमा स्वर्गीय युवा नेता तथा समाजसेवी सुजित कुमार पाण्डेको स्मृतिमा आयोजित सुजित मेमोरियल कप २०८३ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कलैया उपमहानगरपालिका वडा नं. १२ ले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा वडा नं. १२ ले वडा नं. ६ लाई एक विकेटले पराजित गर्दै उपाधि चुमेको हो।
३० वर्षको अल्पायुमै निधन भएका सुजित कुमार पाण्डेको सामाजिक योगदान, युवाप्रतिको प्रतिबद्धता र नेतृत्वदायी भूमिकालाई स्मरण गर्दै प्रतियोगिता आयोजना गरिएको हो। कलैया उपमहानगरपालिका–१४ बघवन निवासी पाण्डे जनमत पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता र समाजसेवीका रूपमा परिचित थिए। स्थानीय युवाको हकहित, सामाजिक विकृति तथा विसंगतिविरुद्ध आवाज उठाउँदै आएका उनको २०८३ भदौ ११ गते कलैया–१४ स्थित लक्ष्मिनिया चोकमा भएको मोटरसाइकल दुर्घटनामा असामयिक निधन भएको थियो।
उनको निधनपछि स्मृतिलाई जीवन्त राख्दै खेलकुदमार्फत युवालाई एकताबद्ध गर्ने उद्देश्यले बाल्यकालका साथी कलैया–१४ बघवन निवासी रमेश ठाकुरले प्रतियोगिता आयोजनाको अगुवाइ गरेका हुन्। पिएसआर खबर सञ्चालन गर्दै कान्तिपुर टेलिभिजनका बारा संवाददाताका रूपमा कार्यरत ठाकुरले आर्थिक स्रोत सुनिश्चित नभए पनि विभिन्न स्थानबाट सहयोग जुटाउँदै ‘युथ अफ कलैया–१४’ खेलकुद व्यवस्थापन समिति गठन गरेर प्रतियोगिता सञ्चालन गरेका थिए।
समितिको आयोजनामा भौरास्थित खेल मैदानमा सञ्चालन भएको प्रतियोगिताले स्वर्गीय पाण्डेको स्मृतिलाई खेलकुदसँग जोड्दै स्थानीय युवालाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कलैया वडा नं. ६ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। वडा नं. ६ का महम्मद समिमले २१ बलमा २९ रन, किसन गुप्ताले २६ रन र अफसरले १९ रनको योगदान दिएका थिए।
१४८ रनको लक्ष्य पछ्याएको कलैया वडा नं. १२ ले १९.४ ओभरमा नौ विकेट गुमाउँदै १४९ रन बनाएर रोमाञ्चक जित हासिल गर्यो। वडा नं. १२ का रोशन यादवले २८ बलमा ३५ रन, कलाम अंसारीले नौ बलमा २७ रन तथा जाहिर हवारीले ११ बलमा १९ रन बनाउँदै टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका थिए।
आयोजक समितिका अध्यक्ष रमेश ठाकुरका अनुसार फाइनल खेलमा कलैया वडा नं. १२ का अवधेश यादव म्यान अफ द म्याच घोषित भएका छन्। प्रतियोगिताको प्लेयर अफ द सिरिज कलैया वडा नं. ७ का आदित्य थापा घोषित भए। त्यस्तै, उत्कृष्ट ब्याट्सम्यान कलैया वडा नं. ४ का सानु कुमार थापा र उत्कृष्ट बलर कलैया वडा नं. ७ का आदित्य थापा घोषित भएका छन्।
प्रतियोगिताको विजेता कलैया वडा नं. १२ को टोलीलाई प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोदप्रसाद साह र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता उमाशंकर रौनियारले नगद १५ हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्रदान गरेका थिए। उपविजेता वडा नं. ६ को टोलीलाई बारा निर्वाचन क्षेत्र नं. ३ (ख) का पूर्वप्रदेशसभा सदस्य पारसप्रसाद साह र जनमत पार्टी बाराका इन्चार्ज शिवनाथ पटेलले नगद १० हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्रदान गरेका थिए।
स्वर्गीय सुजित पाण्डेका बुवा सुरेन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा कलैया वडा नं. ४ का वडाध्यक्ष रामेश्वर यादव, वडा नं. ६ का वडाध्यक्ष रामविश्वास ठाकुर, वडा नं. ८ का वडाध्यक्ष रञ्जित चौरसिया, वडा नं. १२ का वडाध्यक्ष लालबाबु मण्डल, माओवादी पार्टीका नेता मुकेश साहलगायत खेलाडी, स्थानीयवासी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
खेलकुद प्रतियोगितामार्फत स्वर्गीय सुजित पाण्डेको सामाजिक योगदान, युवालाई संगठित गर्ने भावना र सकारात्मक परिवर्तनप्रतिको प्रतिबद्धतालाई स्मरण गरिएको आयोजकले जनाएको छ।


