मधेशसमाचार

मटिअर्वामा आगलागी हुँदा दुई घर जले, दुई चौपाया मरे

कलैया, ८ मंसिर

बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा मंगलबार बिहान भएको आगलागीमा दुईवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीमा दुई चौपाया मरेका छन् भने घरभित्र रहेका लत्ताकपडा तथा अन्य सरसामान जलेर नष्ट भएका छन्।

प्रहरीका अनुसार मंगलबार बिहान करिब ३ः१८ बजे स्थानीय रतन महराको माटो तथा खरले बनेको घरबाट आगलागी सुरु भएको थियो। आगो फैलिँदै गएपछि छिमेकी धुरेन्द्र महराको घरसमेत पूर्ण रूपमा जलेर नष्ट भएको हो।

आगलागीमा रतन महराको घरमा रहेका दुई चौपाया जलेर मरेका छन्। घरभित्र रहेका लत्ताकपडा तथा अन्य सामग्रीसमेत आगोले नष्ट गरेको छ। घरमा सुतिरहेका बालबालिका भने आगो लागेको थाहा पाएपछि समयमै बाहिर निस्कन सफल भएकाले मानवीय क्षति हुन पाएन।

स्थानीय सञ्चारकर्मी राजु चौरसियाका अनुसार घरधनी रतन महरा र धुरेन्द्र महरा तीर्थाटनका लागि घरबाहिर रहेका बेला आगलागी भएको हो।

आगो नियन्त्रणमा लिन स्थानीय प्रहरी, सशस्त्र प्रहरी तथा गाउँले जुटेका थिए। कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका र देवताल गाउँपालिकाबाट आएका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

सुरक्षाकर्मी, दमकलकर्मी र स्थानीयको संयुक्त प्रयासले आगो नियन्त्रणमा आएपछि आसपासका अन्य घरमा आगो फैलिनबाट जोगिएको छ। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबाट भएको कुल आर्थिक क्षतिको विवरणसमेत संकलन भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button