मधेशसमाचार

गरुडा नगरपालिकामा अनियमितताको आरोप, प्रमुख प्रशासकीय अधिकृत नाथु साहको खण्डन

रौतहट, ०८ मंसिर

रौतहटको गरुडा नगरपालिकामा विकास निर्माण तथा सामाजिक विकासका योजनामा आर्थिक अनियमितता भएको आरोप सार्वजनिक भएपछि प्रमुख प्रशासकीय अधिकृत नाथु साहले आरोपबारे प्रतिक्रिया दिएका छन्।

नगरपालिकाका लेखापाल राजेश साह र प्रमुख प्रशासकीय अधिकृत नाथु साहमाथि विकास निर्माणका योजना, सामग्री खरिद तथा सामाजिक विकासका कार्यक्रमको बजेट दुरुपयोग गरेको आरोप स्थानीयवासीले लगाएका छन्। गत आर्थिक वर्षको अन्त्यमा अधुरा तथा गुणस्तरहीन कामको मूल्याङ्कन गरी शतप्रतिशत भुक्तानी गरिएको, एउटै प्रकृतिका सामग्रीलाई टुक्र्याएर खरिद प्रक्रिया अपनाइएको तथा विभिन्न शीर्षकमा अनियमितता भएको आरोपसमेत उठाइएको छ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत नाथु साहसँग प्रत्यक्ष प्रतिक्रिया लिँदा उनले लेखापाल नहुँदा नगरपालिका सञ्चालन तथा आर्थिक व्यवस्थापनमा समस्या हुँदै आएको बताए। तिहार पर्वको मुखमा प्रदेश सरकारले लेखापाल पठाएपछि कर्मचारीको तलबभत्ता उपलब्ध गराउने काममै समय व्यतीत भएको उनको भनाइ छ।

साहका अनुसार छठ पर्वपछि कार्यालय सञ्चालनमा आएलगत्तै सामाजिक सुरक्षा भत्ता, कर्मचारीको बाँकी बक्यौता तथा केही जनप्रतिनिधिको दायित्व भुक्तानी गर्ने काम भएको छ।

उनले चालु आर्थिक वर्षमा हालसम्म कुनै पनि व्यक्ति वा संस्थासँग तालिम सञ्चालनका लागि सम्झौता नभएको स्पष्ट पार्दै तालिमको पुरानो बाँकी बक्यौता पनि भुक्तानी नगरिएको जानकारी दिए। नगरपालिकाबाट हुने सबै भुक्तानी कार्यालयमार्फत मात्रै हुने गरेको दाबी गर्दै उनले सार्वजनिक भएका आरोपप्रति आफ्नो पक्ष स्पष्ट पारेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button