मधेशसमाचार

एसपी रविन कार्कीले सम्भाले रौतहट प्रहरीको कमाण्ड

रौतहट, ४ कार्तिक
जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको रूपमा प्रहरी उपरीक्षक रविन कार्कीले कमाण्ड सम्हालेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्सालको गत असोज ३० गतेको पत्रानुसार एसपी रविन कार्की उपत्यका प्रहरी कार्यालयबाट काज सरुवा भई जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखका रूपमा सोमवार कमाण्ड सम्हालेका हुन्।
कार्कीलाई जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्की इन्स्पेक्टर रुद्र कँडेल लगायत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए। रौतहटमा आइपुगेका एसपी रविन कार्कीको सम्मानमा स्वागत कार्यक्रमसमेत आयोजना गरिएको थियो।
रौतहटमा आफ्नो नयाँ कार्यकाल सुरु गर्नुअघि एआईजी दान बहादुर कार्कीको उपस्थितिमा उपत्यका प्रहरी कार्यालयमा आयोजित विशेष समारोहबीच एसपी रविन कार्कीलाई बिदाई तथा “फेरि भेटौंला” कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा एआईजी कार्कीले एसपी रविन कार्कीलाई खाँदा ओढाएर मायाको चिनो प्रदान गरी सफल कार्यकालको शुभकामना दिएका थिए। उनले उपत्यका प्रहरी कार्यालयमा कार्यरत रहँदा कार्कीले देखाएको व्यावसायिकता नेतृत्व क्षमता र प्रतिबद्धताको प्रशंसा गर्दै नयाँ कार्यक्षेत्र रौतहटमा पनि उत्तिकै समर्पणका साथ काम गर्ने विश्वास व्यक्त गरे।
साथै एआईजी कार्कीले छिमेकी देशसँग खुला सिमाना भएका जिल्लाहरूमा सम्भावित सुरक्षा चुनौतीहरूलाई ध्यानमा राखी विशेष सुरक्षा योजना बनाएर जनमुखी र परिणाममुखी सेवा प्रवाह गर्न निर्देशन दिएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button