
फिनल्यान्डका राजदूतको बारागढी भ्रमण : शिक्षा सुधार र अन्तर्राष्ट्रिय सहकार्यमा जोड
बारा, ०९ असार
फिनल्यान्डका महामहिम राजदूतज्यू तथा उहाँको उच्चस्तरीय टोलीले बारा जिल्लाको बारागढी गाउँपालिकाको सद्भावना भ्रमण गरेका छन्। गाउँपालिकाको निमन्त्रणामा भएको उक्त भ्रमणलाई स्थानीय शिक्षा विकास र अन्तर्राष्ट्रिय सहकार्यको दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
भ्रमणका क्रममा टोलीले गाउँपालिकाको समग्र वस्तुस्थिति, विकास निर्माणको अवस्था, सामाजिक तथा शैक्षिक परिवेशको अवलोकन गरेको गाउँपालिकाले जनाएको छ। टोलीसँग गाउँपालिका अध्यक्ष अशोक जयसवाल, प्रमुख प्रशासकीय अधिकृत मुकेश मिश्र, जनप्रतिनिधि तथा शिक्षा शाखाका पदाधिकारीहरूले छलफल गरेका थिए।
विशेषगरी बारागढी गाउँपालिकाको शिक्षा क्षेत्रको अवस्था, विद्यालयहरूको भौतिक पूर्वाधार, शिक्षण सिकाइको गुणस्तर, विद्यार्थीको सिकाइ उपलब्धि तथा देखिएका चुनौतीबारे गहन संवाद भएको जनाइएको छ। छलफलमा फिनल्यान्डको विश्वप्रसिद्ध शैक्षिक प्रणाली, व्यवहारिक शिक्षण पद्धति, विद्यार्थीमैत्री वातावरण तथा आधुनिक शिक्षा व्यवस्थापनका अनुभवसमेत साझा गरिएको थियो।
गाउँपालिका अध्यक्ष अशोक जयसवालले फिनल्यान्डको शिक्षा प्रणाली विश्वमै उत्कृष्ट मानिने भएकाले त्यसबाट प्राप्त अनुभव र सुझाव बारागढीको शिक्षा सुधारका लागि निकै उपयोगी हुने विश्वास व्यक्त गरे। उनले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, शिक्षक क्षमता विकास तथा विद्यालय व्यवस्थापन सुधारमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरे।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत मुकेश मिश्रले फिनल्यान्डको टोलीसँग भएको छलफलले स्थानीय शिक्षा प्रणालीलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने दिशामा नयाँ सोच र अवसर प्रदान गरेको बताए। उनले आगामी दिनमा शिक्षा क्षेत्रमा सहकार्य, अनुभव आदानप्रदान तथा सम्भावित साझेदारीमार्फत बारागढीलाई शैक्षिक रूपमा सबल बनाउने लक्ष्य रहेको धारणा राखे।
भ्रमणका क्रममा राजदूत टोलीले स्थानीय समुदायसँग समेत अन्तरक्रिया गर्दै ग्रामीण क्षेत्रको शिक्षा, स्वास्थ्य तथा सामाजिक अवस्थाबारे जानकारी लिएको थियो। टोलीको गरिमामय उपस्थितिले स्थानीय सरकार र नागरिकहरूमा उत्साह थपिएको गाउँपालिकाले जनाएको छ।
बारागढी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय तथा सम्पूर्ण गाउँपालिकावासीका तर्फबाट महामहिम राजदूतज्यू र उहाँको टोलीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ। गाउँपालिकाले यस्तो भ्रमण र संवादले आगामी दिनमा बारागढीको शिक्षा क्षेत्रको विकास तथा समृद्धिका लागि नयाँ सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ।



