मधेशसमाचार

आदर्श कोतवाल गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न, प्रमुख प्रशासकीय अधिकृत विजय चौरसियाको कार्यशैलीको प्रशंसा

बारा,०९ असार

बाराको आदर्श कोतवाल गाउँपालिकाको १६ औं गाउँसभा भव्य रूपमा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साहको अध्यक्षतामा तथा गाउँपालिका उपाध्यक्ष मिरा देवीको सहकार्यमा सम्पन्न गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको हो ।
गाउँसभामा गाउँपालिका अध्यक्ष साहले नै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका थिए । प्रस्तुत बजेटअनुसार गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोड ३३ लाख ६३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, सामाजिक सुरक्षा, रोजगार तथा सुशासनलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।
गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत विजय चौरसियाको कार्यसम्पादन, प्रशासनिक दक्षता तथा समन्वयकारी भूमिकाको विशेष प्रशंसा गरिएको थियो । गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साहसहित विभिन्न जनप्रतिनिधिहरुले चौरसियाले गाउँपालिकामा पारदर्शी प्रशासन, प्रभावकारी सेवा प्रवाह तथा योजनाको कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए ।
वक्ताहरूले सीमित स्रोत–साधनका बीच पनि प्रमुख प्रशासकीय अधिकृत चौरसियाले कर्मचारी व्यवस्थापन, आर्थिक अनुशासन तथा विकास योजनालाई प्रभावकारी ढंगले अघि बढाउन सफल भएको उल्लेख गरेका थिए । गाउँपालिकामा सेवा प्रवाहलाई छिटो, सहज र नागरिकमैत्री बनाउन उनले खेलेको भूमिकाको समेत खुलेर प्रशंसा गरिएको थियो ।
गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा स्थानीय उत्पादन वृद्धि, कृषिको आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सडक तथा ढल निर्माण, युवालाई स्वरोजगारमुखी बनाउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै विपन्न, दलित, महिला, ज्येष्ठ नागरिक तथा पिछडिएका समुदायलाई लक्षित कार्यक्रमसमेत समावेश गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा सम्पूर्ण वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरू, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा नं. ८ का वडा सचिव रामएकवाल यादवले गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत विजय चौरसियाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
स्वागत मन्तव्यका क्रममा चौरसियाले गाउँपालिकाको समग्र विकासका लागि जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज तथा स्थानीयवासीबीच सहकार्य आवश्यक रहेको बताए । उनले पारदर्शिता, जवाफदेहिता र जनमुखी प्रशासनमार्फत गाउँपालिकालाई नमुना स्थानीय तहका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
गाउँसभा समापन गर्दै अध्यक्ष साहले गाउँपालिकाको समृद्धि, सुशासन र दिगो विकासका लागि सबै पक्षको साथ र सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै आगामी वर्षमा जनताको अपेक्षा अनुरूप परिणाममुखी काम गरिने विश्वास व्यक्त गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button