
सत्येन्द्र प्रताप सिंह
असोज २९ रौतहट
वैदेशिक रोजगारलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत सदरमुकामको गौर नगरपालिकाको सभा हलमा जिल्ला स्तरीय समीक्षा तथा योजना तर्जुमा बैठक भव्य रूपमा सम्पन्न भएको छ।
गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पौडेलको अध्यक्षता तथा नगर प्रमुख शम्भु साहको प्रमुख आतिथ्यमा बुधबार सो बैठक सम्पन्न भएको हो। गौर नगरपालिकाको आयोजनामा सम्पन्न उक्त बैठकमा जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत सामी कार्यक्रमका कर्मचारी तथा रोजगार संयोजकहरूको सहभागिता रहेको थियो।
प्रगति समीक्षा तथा आगामी योजनामा गहन छलफल
बैठकमा सामी कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक बिनय कुमारले गत आर्थिक वर्ष २०८२/०८३ मा भए गरेका उपलब्धि, सिकाइ, भोग्नुपरेका समस्या तथा चुनौतीहरूको सम्बन्धमा विस्तृत प्रस्तुतीकरण गरेका थिए। त्यसैगरी कार्यक्रम अधिकृत राम प्रमेश मण्डलले वैदेशिक रोजगारका सम्बन्धमा नेपाल सरकारले प्रदान गर्दै आएका सेवा ऐन-कानुन मासिक प्रतिवेदन तथा सूचना व्यवस्थापन प्रणाली सम्बन्धी सहजीकरण गरेका थिए।
बैठकले गत आवको समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८३/०८४ का लागि स्वीकृत कार्यक्रम तथा बजेट अनुसार त्रैमासिक कार्ययोजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ।
स्थानीय तहमा सामी कार्यक्रमलाई थप प्रभावकारी नतिजामुखी र दिगो बनाउन बैठकले मुख्य सातवटा बुँदाहरूमा गहन छलफल गरी विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
सामी कार्यक्रमका सेवाहरूकोआ संस्थागत विकास तथा दिगोपनका लागि श्रम तथा रोजगार मनोसामाजिक परामर्स वित्तीय साक्षरता सम्बन्धी नीति-कार्यविधि तथा आप्रवासन सम्बन्धी पार्श्वचित्र तयार गरी स्थानीय तहको नीति कार्यक्रम र बजेटमा समावेश गर्ने निर्णय गरिएको छ। जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, रोजगार सेवा केन्द्र, विषयगत शाखा, आप्रवासी स्रोत केन्द्र तथा प्रहरी प्रशासन लगायतका सरोकारवाला निकायहरूसँग नियमित समन्वय, सहकार्य र सूचना आदानप्रदानलाई सुदृढ बनाइने भएको छ।
गुणस्तरीय प्रतिवेदन र प्रविधि प्रयोग: सूचना व्यवस्थापन प्रणालीमा तथ्याङ्क अद्यावधिक, समयमै प्रतिवेदन पेस, सफलताका कथा लेखन तथा मिडिया ग्यालरी व्यवस्थापन जस्ता कार्यलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय भएको छ।
सूचना तथा निर्देशनहरूको छिटो-छरितो आदानप्रदानका लागि सम्बन्धित कर्मचारी तथा सम्पर्क व्यक्तिहरू सम्मिलित सञ्चार समूह निर्माण गरी उपयोगमा ल्याइनेछ।
कार्यक्रमबाट लाभान्वित सेवाग्राहीको जीवनमा आएका सकारात्मक परिवर्तनलाई अभिलेखबद्ध गर्न सफलताको कथा तयार गरिनेछ। यस क्रममा सेवाग्राहीको सहमति, गोपनीयता तथा व्यक्तिगत विवरणको सुरक्षालाई पूर्ण रूपमा ध्यान दिइने जनाइएको छ।
समुदाय तथा विद्यालय स्तरमा मनोसामाजिक परामर्श, न्यायिक समिति तथा मेलमिलापकर्ताहरूसँग अन्तरक्रिया, जिल्लाका प्रहरी इन्चार्जहरूसँग लक्षित कार्यक्रम, र अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा विविध सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ।
बैठकको समापन गर्दै गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पौडेलले बैठकमा प्राप्त रचनात्मक सुझावहरूलाई आगामी कार्ययोजनामा समावेश गरी स्थानीय आवश्यकता सेवाग्राहीको पहुँच र सेवा प्रवाहको गुणस्तरलाई प्राथमिकता दिइने बताए ।
बुधबार बिहान ११ बजेदेखि सुरु भएको बैठक बेलुकी ५ बजे समापन भएको थियो। बैठकको अन्त्यमा विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण सहभागी, कर्मचारी तथा सरोकारवालाहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरिएको थियो।



