
सत्येन्द्र प्रताप सिंह
रौतहट , ०४ असोज
राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक मञ्चहरूबाट राज्य संयन्त्रमा दलीय हस्तक्षेप अन्त्य गर्ने र दलीय ट्रेड युनियन खारेजीको वकालत गर्दै आए तापनि स्थानीय स्तरमा भने बहालवाला सरकारी कर्मचारीलाई नै राजनीतिक प्रचारप्रसार र उम्मेदवारी घोषणामा सहभागी गराएको पाइएको छ।
रौतहटको माधवनारायण नगरपालिकामा कार्यरत इन्जिनियर लक्ष्मण साहलाई आगामी स्थानीय तहको निर्वाचन/उपनिर्वाचनलाई लक्षित गरी सम्भावित उम्मेदवारका रूपमा अघि सारिएपछि स्थानीय राजनीतिक वृत्तमा तीव्र विवाद र शंका उत्पन्न भएको छ।
प्राप्त जानकारी अनुसार इन्जिनियर साह रास्वपा गौरका नगर सभापति सूर्य कुशवाहाको प्रत्यक्ष नेतृत्वमा गौर नगरपालिका वडा नं. २ स्थित महादेवपट्टी पुगी घरदैलो तथा राजनीतिक भेटघाटमा सक्रिय देखिएका हुन्। सोही क्रममा साहले पूर्व वडाध्यक्ष राकेश झाको निवासमै पुगेर आफू रास्वपाको तर्फबाट भावी मेयरको उम्मेदवार रहने भन्दै सहयोग र समर्थनको प्रस्ताव राखेका थिए।
निजामती तथा सार्वजनिक सेवामा कार्यरत बहालवाला कर्मचारी कुनै पनि राजनीतिक दलको प्रचारप्रसार वा उम्मेदवारी घोषणामा सहभागी हुनु निजामती सेवा ऐन स्वास्थ्य सेवा ऐन तथा प्रचलित सरकारी आचारसंहिताको प्रत्यक्ष उल्लंघन हो। तर स्वयं नगर सभापति कुशवाहाकै उपस्थिति र संरक्षणमा गैर-राजनीतिक रहनुपर्ने सरकारी कर्मचारीलाई अघि सारेर घरदैलो गराइनुले रास्वपाको स्थानीय कार्यशैली र नियतमाथि गम्भीर प्रश्न खडा गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो विधान र सार्वजनिक दस्तावेजहरूमा उम्मेदवार चयन प्रक्रिया पारदर्शी विधिगत र गैर-गुटगत हुने दाबी गर्दै आएको छ। पार्टीको आन्तरिक नीति अनुसार योग्य, दक्ष र इच्छुक व्यक्तिहरूलाई क्यान्डिडेट क्लब मार्फत प्राथमिक अध्ययन आन्तरिक मूल्यांकन र प्राथमिकीकरण गरेर मात्र उम्मेदवार चयन गर्नुपर्ने स्पष्ट व्यवस्था छ।
तथापि रौतहटमा भने पार्टीको केन्द्रीय नीति र विधानलाई लत्याउँदै नगर सभापति कुशवाहाले आफूखुसी बहालवाला सरकारी कर्मचारीलाई मेयर र अन्य व्यक्तिहरूलाई वडाध्यक्षको उम्मेदवार घोषणा गर्दै हिँडेका छन् । विधि र पद्धतिको दुहाई दिने दलभित्रै यसरी हचुवाका भरमा उम्मेदवार तय गरिनु कत्तिको जायज हो भन्दै सर्वसाधारण तथा स्थानीय कार्यकर्ताहरूले तीव्र असन्तुष्टि जनाए ।
एकातिर राज्यका कर्मचारीलाई गैर-राजनीतिक र तटस्थ राख्नुपर्छ भन्ने अनि अर्कातिर बहालवाला इन्जिनियरलाई पार्टीको झण्डा र नेतृत्वसहित उम्मेदवारका रूपमा प्रस्तुत गर्दै हिँड्नुले रास्वपाको दोहोरो चरित्र उजागर गरेको स्थानीयको आरोप छ । सार्वजनिक सेवामा दलीयकरण रोक्न दलीय भ्रातृ संगठन र ट्रेड युनियन खारेजीको वकालत गर्ने रास्वपा स्वयंले बहालवाला कर्मचारीलाई उम्मेदवार बनाउनु कुन सिद्धान्तभित्र पर्छ भन्दै प्रश्न उठाइएको छ। क्यान्डिडेट क्लब को प्राथमिक प्रक्रिया पूरा नगरी नगर सभापतिकै सनकका भरमा उम्मेदवार घोषणा गर्नाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र पारदर्शितामाथि गम्भीर धक्का पुगेको छ।
बहालवाला सरकारी कर्मचारीलाई राजनीतिक दलको उम्मेदवारका रूपमा अघि बढाउने र पार्टीको नीति-नियमविपरीत आफूखुसी उम्मेदवार घोषणा गर्ने नगर सभापति सूर्य कुशवाहा र इन्जिनियर लक्ष्मण साहको यो कदमले सिङ्गो रास्वपा पङ्क्तिमाथि नै नैतिक र कानुनी प्रश्न खडा गरिदिएको छ।
यस सम्बन्धमा इन्जिनियर लक्ष्मण साह कार्यरत माधवनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिषिकेश रेग्मीसँग टेलिफोन सम्पर्क गर्दा उनले यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। अधिकृत रेग्मीका अनुसार इन्जिनियर साहले हालसम्म कुनै बिदा लिएका छैनन् र यदि साँच्चै पार्टीको प्रचारप्रसारमा खटिएको प्रमाणित भएमा कानुन विपरीत ठहरिने भएकाले कानुनबमोजिम विभागीय कारबाही प्रक्रिया अगाडि बढाइनेछ।
यसै विषयमा रौतहटका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलसँग टेलिफोन संवाद गर्दा कुनै पनि राष्ट्रसेवक कर्मचारी राजनीतिक दलको प्रचारप्रसार वा राजनीतिक गतिविधिमा संलग्न भएको पुष्टि भएमा निजामती सेवा ऐन तथा आचारसंहिता बमोजिम कडा कारबाही गरिने बताए।



