मधेशसमाचार

होटल हत्या प्रकरणका मुख्य अभियुक्त राई पक्राउ

सिमरा ,०४ असोज

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा भएको चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको घटनामा प्रहरीले मुख्य अभियुक्तमध्येका एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–१६ महेन्द्रनगरका आयुष राई रहेका छन्। उनलाई शनिबार साँझ प्रहरीले महेन्द्रनगरबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार शनिबार साँझ करिब ५ बजे सम्झना स्टाफ होटलमा खाजा खान पुगेका स्थानीय ३५ वर्षीय शेरबहादुर खड्कामाथि विवादका क्रममा धारिलो चक्कु प्रहार भएको थियो। चक्कु प्रहारबाट घाँटीमा गम्भीर चोट लागेका खड्कालाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको थियो।
घटना भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाएको थियो। अनुसन्धानका क्रममा राई पक्राउ परेका हुन्। प्रहरीले घटनामा चार जनाको संलग्नता रहेको प्रारम्भिक जानकारी दिँदै अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको जनाएको छ।
होटलमा विवाद सुरु हुनुको कारण, चक्कु प्रहारको वास्तविक परिस्थिति तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको भूमिकाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका राईमाथि प्रचलित कानुनअनुसार अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button