
सुनसरी , ०४ असोज
सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपलाई लिएर सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा फैलाइएको गोली प्रहारबाट मृत्यु र घाइते भएको विवरण गलत रहेको प्रहरीले स्पष्ट पारेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत घटनाबारे अपुष्ट सूचना सम्प्रेषण नगर्न सञ्चारमाध्यम तथा सर्वसाधारणलाई आग्रह गरेको हो।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ः२५ बजे बीपी चोकमा दुई यादव समूहबीच झडप भएको थियो। झडपका क्रममा देवानगञ्ज–१ का २४ वर्षीय निरकुमार यादव घाइते भएका छन्। उनको पुठ्ठामा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ।
घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज–२ का १८ वर्षीय विष्णुकुमार यादव र सोही स्थानका २६ वर्षीय ‘लाली’ भन्ने जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झडपमा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्यसमेत भइरहेको प्रहरीको भनाइ छ।
घटनामा गोली प्रहारबाट मानिसको मृत्यु तथा घाइते भएको भन्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका विवरणप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले आधिकारिक स्रोतबाट यथार्थ जानकारी लिएर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।
प्रहरीले अपुष्ट तथा भ्रमपूर्ण सूचनाले घटनाको वास्तविक अवस्थाबारे गलत धारणा सिर्जना गर्न सक्ने भएकाले तथ्य पुष्टि गरेर मात्र समाचार प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।



