
सत्येन्द्र प्रताप सिंह
रौतहट, ०३ असोज
नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको अवसरमा रौतहट र बारामा शनिबार विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ मनाइएको छ। रौतहटको सदरमुकाम गौरमा प्रभातफेरीसहित शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने बाराको सदरमुकाम कलैयामा समारोह आयोजना गरी संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन र समृद्धिमा जोड दिइएको छ।
रौतहटमा जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहको संयुक्त आयोजना र समन्वयमा गौरस्थित घन्टाघर चोकबाट प्रभातफेरी निकालिएको थियो। राष्ट्रिय झण्डा, संविधानको महत्व झल्काउने प्लेकार्ड तथा सन्देशमूलक नारासहित निस्किएको प्रभातफेरी नगरका विभिन्न भागको परिक्रमा गर्दै मुख्य समारोहस्थलमा पुगेर सभामा परिणत भएको थियो।
प्रभातफेरीमा सरकारी कर्मचारी, सुरक्षा निकाय, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको सहभागिता थियो। सहभागीहरूले लोकतान्त्रिक मूल्य–मान्यता, नागरिक अधिकार, कर्तव्य, सुशासन तथा राष्ट्रिय एकतासम्बन्धी सन्देश प्रवाह गरेका थिए।
प्रभातफेरीपछि आयोजित कार्यक्रममा शहीद स्मारकमा माल्यार्पण गर्दै लोकतन्त्र, गणतन्त्र तथा नागरिक अधिकार प्राप्तिको आन्दोलनमा जीवन बलिदान गर्ने ज्ञात–अज्ञात शहीदप्रति एक मिनेट मौनधारणसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामअयोध्या यादवले संविधानले मधेशी, दलित, महिला, मुस्लिमलगायत विभिन्न समुदायका अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै संविधानको पूर्ण कार्यान्वयन र संरक्षणका लागि सबै राजनीतिक दल तथा नागरिक एकजुट हुनुपर्ने बताए।
गौर नगरपालिकाका प्रमुख शम्भु साहले संविधान दिवसको अवसरमा नगरवासी तथा देशवासीमा शुभकामना दिँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव, शान्ति र समृद्धिका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।
यसैगरी बाराको सदरमुकाम कलैयामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को समारोह आयोजना गरिएको थियो। जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्रकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले संविधान नागरिकका हक–अधिकार सुनिश्चित गर्ने देशको मूल कानुन भएको बताए।
प्रजिअ अधिकारीले नागरिकका इच्छा, आकांक्षा तथा तत्कालीन राजनीतिक अवस्थाको समाधानका क्रममा संविधान निर्माण हुने उल्लेख गर्दै संविधानकै आधारमा राज्यका सम्पूर्ण संयन्त्र सञ्चालन हुने बताए। उनले संविधान निर्माणका क्रममा भएका संघर्ष, योगदान र बलिदानलाई स्मरण गर्दै जनआन्दोलन, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे।
दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न संविधानको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको अधिकारीको भनाइ थियो। संविधान दिवस संविधान निर्माणमा योगदान गर्ने सबैको सम्मान गर्दै संविधानका मूल भावना व्यवहारमा लागू गर्ने अवसरसमेत भएको उनले बताए।
कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति बाराका सभापति साहले ल्यापटपको बटन थिचेर गरेका थिए। वर्षाका कारण स्काउट तथा विद्यालयका विद्यार्थीको सहभागितामा नगर परिक्रमा र विद्यालय सरसफाइ गर्ने पूर्वनिर्धारित कार्यक्रम सञ्चालन गर्न नसकिएको जानकारी दिँदै सभापति साहले कार्यालय–कार्यालयमा साँझ दीप प्रज्वलन गरी संविधान दिवस मनाउन आग्रह गरे।
‘दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाऔँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका गणपति प्रहरी उपरीक्षक विशाल सिलवाल, श्री रिपुमर्दन गण ब्रह्मपुरीका प्रमुख सेनानी गिरिराज गौतम, राष्ट्रिय अनुसन्धान बाराका उपनिर्देशक सरोज निरौला, पूर्वाधार विकास कार्यालय बाराका प्रमुख ओम साह तथा प्रादेशिक अस्पताल कलैयाका चिकित्सक डा. राहुल मण्डललगायत सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीको सहभागिता थियो।
रौतहट र बारामा आयोजित कार्यक्रममा वक्ताहरूले संविधानले अंगीकार गरेको लोकतन्त्र, संघीयता, समावेशिता र सामाजिक न्यायको मर्मलाई व्यवहारमा कार्यान्वयन गर्दै सुशासन, विकास, सामाजिक सद्भाव र स्थायी शान्तिका लागि राज्यका सबै तह तथा नागरिक जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।



