
बारा , ०३ असोज
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा भएको विवादका क्रममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ।
शनिबार साँझ होटलमा खाजा खाने क्रममा दुई पक्षबीच विवाद भएको र सोही क्रममा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्कामाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।
घाँटीमा गम्भीर चोट लागेका खड्कालाई तत्काल उपचारका लागि वीरगञ्ज लगिएको थियो। तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रारम्भिक अनुसन्धानका क्रममा होटलको भान्सामा प्रयोग हुने चक्कुबाट खड्कामाथि आक्रमण भएको खुलेको प्रहरीले जनाएको छ। घटनापछि आक्रमणमा संलग्न व्यक्ति फरार रहेको र उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
घटनाको कारण तथा संलग्न व्यक्तिको पहिचानबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



