मधेशसमाचार

देवानगन्जमा फेरि गोली चल्यो, युवक घाइते

सुनसरी , ०३ असोज

सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा शनिबार गोली प्रहार हुँदा एक युवक घाइते भएका छन्। गोली लागेर स्थानीय निरज यादव घाइते भएका हुन्।
प्रहरीका अनुसार यादवको तिघ्रामा गोली लागेको छ। घटनापछि उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले देवानगन्जमा गोली प्रहार भएको पुष्टि गर्दै घटनाको विस्तृत विवरण संकलन भइरहेको बताए। घटनास्थलमा प्रहरी परिचालन गरिएको र आफू पनि घटनास्थलतर्फ जाँदै गरेको उनले जानकारी दिए।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूको पहिचान तथा घटनामा उनीहरूको भूमिकाबारे प्रहरीले तत्काल सार्वजनिक गरेको छैन।
देवानगन्जमा पछिल्लो गोलीकाण्डले केही समयअघि भएको सामुदायिक तनावको घटनालाई समेत पुनः स्मरण गराएको छ। यसअघि साउनमा देवानगन्जमा दुई समुदायबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो। उक्त घटनापछि मधेस प्रदेशका विभिन्न स्थानमा समेत तनाव र हिंसात्मक गतिविधि फैलिएको थियो।
शनिबारको घटनापछि देवानगन्ज क्षेत्रमा पुनः सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ। घटनाको कारण, गोली चलाउने व्यक्ति तथा हतियारको अवस्थाबारे थप अनुसन्धान भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button