मधेशसमाचार

स्रोत नखुलेको २५४ हजार नगदसहित दुई जना गौर भन्सार अगाडिबाट पक्राउ

सत्येन्द्र प्रताप सिंह

रौतहट, ०३ असोज
​जिल्लाको सदरमुकाम गौरस्थित भन्सार कार्यालय अगाडिबाट सशस्त्र प्रहरीको संयुक्त टोलीले स्रोत नखुलेको साढे दुई लाखभन्दा बढी नेपाली नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
​गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय अगाडि सीमा क्षेत्रमा तैनाथ संयुक्त चेकप्वाइन्ट टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०६ एआर ०८०२ नम्बरको भारतीय मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
​पक्राउ पर्नेहरूमा जिल्ला रौतहट माधवनारायण नगरपालिका–७ लौकाहा बस्ने अनुमानित २६ वर्षीय संजिव पण्डित र सोही ठाउँका अनुमानित १८ वर्षीय रितिक दास रहेका छन्।
​भन्सार सुरक्षा गार्डका बरिष्ठ प्रहरी नायब निरीक्षक दीपक कुमार यादवको कमाण्डमा खटिएका ३ जना र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गा प्रसाद भट्टको कमाण्डमा खटिएका ७ जना गरी कुल १० जनाको संयुक्त टोलीले शंकास्पद रूपमा आउँदै गरेको उक्त मोटरसाइकललाई रोकेर तलासी लिएको थियो।
​तलासीका क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको नेपाली नगद रु. २ लाख ५४ हजार फेला परेको हो। साथै उनीहरूको कब्जाबाट चाँदी जस्तो देखिने २ थान पायल २ थान मोबाइल फोन र सवारी साधनका रूपमा प्रयोग गरिएको उक्त मोटरसाइकलसमेत बरामद गरिएको छ।
​बरामद रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि नगद, चाँदी जस्ता सामान, मोबाइल र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि रौतहट भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाए ।
​सीमा क्षेत्रमा हुनसक्ने अवैध कारोबार, हुण्डी तथा राजस्व छली नियन्त्रणका लागि सशस्त्र प्रहरीले चेकजाँचमा थप कडाइ गर्दै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button