
कलैया, ०४ असोज
बारामा भदौ महिनामा विभिन्न प्रकृतिका १४४ वटा अपराधका घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार आत्महत्या, सामाजिक अपराध, सवारी ज्यान, महिला तथा बालबालिकासम्बन्धी अपराधसहित विभिन्न प्रकृतिका घटना प्रहरीमा दर्ता भएका हुन्।
प्रहरी तथ्यांकअनुसार भदौमा दर्ता भएका अपराधमध्ये २८ वटा आत्महत्यासम्बन्धी, ३२ वटा सामाजिक अपराध, १३ वटा सवारी ज्यान, ११ वटा महिला तथा बालबालिकासम्बन्धी अपराध, ५ वटा चोरी र २ वटा ज्यानसम्बन्धी घटना रहेका छन्। यसबाहेक अन्य प्रकृतिका ५३ वटा घटना दर्ता भएको प्रहरीको विवरणमा उल्लेख छ।
आत्महत्याका २८ घटनामध्ये ६ वटा विष सेवन र २२ वटा झुण्डिएर भएको प्रहरीले जनाएको छ। झुण्डिएर आत्महत्या गर्नेमा ६ पुरुष, ८ महिला, १ बालक र ७ बालिका रहेको तथ्यांकमा उल्लेख छ।
भदौ महिनामा आर्थिक अपराधतर्फ मात्रै २१ वटा घटना दर्ता भएका छन्। तीमध्ये बैंकिङ कसुरका ११ र ठगीका १० घटना रहेका छन्।
प्रहरीका अनुसार चालु मुद्दामा २४ जना प्रतिवादी पक्राउ परेका छन्। यस्तै, सार्वजनिक चासोका पेन्डिङ मुद्दातर्फ रहेका १ हजार २२६ मुद्दामध्ये भदौ महिनामा ५६ वटा फर्छ्योट गरिएको विवरणमा उल्लेख छ।
बारामा भदौ महिनामा ८४ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १२ जनाको मृत्यु र १२२ जना घाइते भएका छन्। दुर्घटनामा परेका ११५ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीको तथ्यांकअनुसार दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही देखिएको छ। चालकको कारण मात्रै ८१ वटा दुर्घटना भएको विवरणमा उल्लेख छ।
सवारी नियम उल्लंघन गर्ने सवारीसाधनमाथि गरिएको कारबाहीबाट प्रहरीले भदौ महिनामा ९ लाख ६५ हजार ५०० रुपैयाँ जरिवाना संकलन गरेको छ।
लागूऔषध नियन्त्रणमा १६६ किलोभन्दा बढी गाँजा बरामद
प्रहरीले भदौ महिनामा लागूऔषधसम्बन्धी ६ वटा मुद्दा दर्ता गरी ३ जनालाई पक्राउ गरेको जनाएको छ। सो क्रममा १६६ किलो ९६० ग्राम गाँजा र १.९६ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीको विवरणमा उल्लेख छ।
अवैध मदिरा नियन्त्रणतर्फ पनि प्रहरीले अभियान सञ्चालन गरेको छ। भदौमा ११ हजार ९९० लिटर अवैध मदिरा बरामद गर्नुका साथै १८ वटा अवैध मदिरा भट्टी नष्ट गरिएको प्रहरीले जनाएको छ।
वन तथा प्राकृतिक स्रोतको दोहनमा पनि कारबाही
प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रणका क्रममा प्रहरीले ७ वटा ट्र्याक्टर नियन्त्रणमा लिएर ७ लाख रुपैयाँ जरिवाना संकलन गरेको छ।
त्यसैगरी अवैध वन पैदावार नियन्त्रणतर्फ ४८.४८ क्युफिट सालको काठ बरामद गरिएको तथा त्यसबाट १ लाख ३३ हजार ४ सय रुपैयाँ राजस्व/जरिवाना संकलन गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी क्षेत्रमा भदौ महिनामा १७४ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तीमध्ये १५३ वटा उजुरी मिलापत्र गराइएको र २ वटा मुद्दा अदालत पठाइएको विवरणमा उल्लेख छ।
स्थानीय तहअनुसार घरेलु हिंसाका उजुरीमध्ये उपमहानगरपालिकामा ५१, नगरपालिकामा ४१ र गाउँपालिकामा ८२ वटा रहेका छन्।
यसैगरी भदौमा २८ जना हराएकोमा १६ जना फेला परेको प्रहरीले जनाएको छ। प्रहरी कार्यालयमा प्रत्यक्ष तथा जिल्ला प्रशासन कार्यालयमार्फत आएका उजुरीसमेत गरी कुल १६५ उजुरी परेकोमा १५ वटा फर्छ्योट हुन बाँकी रहेको विवरणमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय बाराले अपराध न्यूनीकरण तथा शान्ति–सुरक्षा कायम गर्न दिवा तथा रात्री गस्तीलाई निरन्तरता दिएको जनाएको छ। प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती, समुदाय लक्षित सचेतनामूलक कार्यक्रम, सीसीटीभीमार्फत निगरानी, पूर्वअपराधसम्बन्धी सूचना संकलन तथा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रहरीको भनाइ छ।
प्रहरीले अपराध नियन्त्रणका लागि समुदायसँगको सहकार्य, नियमित गस्ती तथा सूचना संकलनलाई प्रभावकारी बनाउने प्रयास भइरहेको जनाएको छ। भदौ महिनाको तथ्यांकले बारामा अपराधसँगै आत्महत्या, सवारी दुर्घटना, घरेलु हिंसा, लागूऔषध र अवैध मदिरा नियन्त्रण प्रहरीका लागि प्रमुख चुनौतीका रूपमा देखाएको छ।



