
सत्येन्द्र प्रताप सिंह
असोज २९ रौतहट
रौतहटको गौर नगरपालिका–१ निवासी मिर्गौलासम्बन्धी गम्भीर समस्याबाट ग्रसित राजु पासवानको परिवारलाई स्थानीय सामाजिक अभियन्ता सन्तोष पौडेलले आर्थिक सहयोग प्रदान गरेका छन्। लामो समयदेखि मिर्गौलाको उपचार गराइरहेका पासवानको आर्थिक अवस्था अत्यन्तै कमजोर भएपछि दैनिक जीवनयापन र उपचार प्रक्रियामा परेको समस्यालाई मध्यनजर गर्दै अभियन्ता पौडेलले आर्थिक सहयोग गरेका हुन्।
पासवान परिवारको घरमै पुगेर अभियन्ता पौडेलले पीडित राजु पासवानका कान्छा छोरा मिन्टु पासवानलाई नगद रु. १० हजार रुपैयाँ बराबरको सहयोग रकम हस्तान्तरण गरे।
लामो समयदेखि उपचाररत पासवान परिवार आर्थिक विपन्नताका कारण एकातिर महँगो औषधि उपचार र डाइलासिस खर्च जुटाउन नसकेर समस्यामा परेका छन् भने अर्कातिर घरको दैनिक गुजारा चलाउनसमेत सकस भइरहेको छ।
सहयोग रकम हस्तान्तरण गर्दै सामाजिक अभियन्ता पौडेलले समाजमा समस्यामा परेका रोगी तथा विपन्न वर्गलाई सहयोग गर्नु प्रत्येक सचेत नागरिकको मानवीय दायित्व भएको बताए। जिल्लामा आर्थिक अभावका कारण धेरै नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने वा औषधि उपचारबाट वञ्चित हुनुपर्ने बाध्यता छ,उनले भने मेरो यो सानो प्रयासले पीडित परिवारलाई तत्कालको स्वास्थ्य उपचार र राहतमा केही टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको हुँ।
अभियन्ता पौडेलले समाजमा रहेका अन्य दानवीर सामाजिक संघ-संस्था तथा स्थानीय सरकारलाई पनि मिर्गौला पीडित पासवानको ज्यान बचाउनका लागि यथाशक्य सहयोगको हात बढाउन अपिल गरेका छन्।
यस किसिमको सहयोगले समस्यामा परेका पीडित परिवारलाई मानसिक तथा आर्थिक रूपमा ठूलो राहत मिल्नुका साथै स्थानीय स्तरमा आपसी भाइचारा सामाजिक सद्भाव र मानवताको भावना बलियो बनाउन मद्दत पुग्ने स्थानीयवासीको भनाइ छ। सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका अभियन्ता पौडेलको यस कदमको स्थानीय तहमा उच्च प्रशंसा भइरहेको छ।



