
कलैया, १० असार
बढ्दो अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै कलैया उपमहानगरपालिका ले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाको शिक्षा शाखाद्वारा जारी सूचनाअनुसार मिति २०८३ असार ११ गते बिहीबारदेखि असार १२ गते शुक्रबारसम्म बालविकास केन्द्रदेखि कक्षा १२ सम्म अध्ययन हुने सबै सामुदायिक तथा संस्थागत विद्यालय, मन्टेश्वरीसहित, बन्द रहने जनाइएको छ।
शिक्षा शाखा प्रमुखद्वारा जारी सूचनामा पछिल्ला दिनहरूमा अत्यधिक तापक्रम वृद्धि भएको तथा गर्मीका कारण विद्यार्थीहरूमा स्वास्थ्य समस्या देखिन सक्ने जोखिम बढेकाले सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ। गर्मीका कारण विशेषगरी साना बालबालिकामा डिहाइड्रेसन, ज्वरो, टाउको दुख्ने, थकान तथा अन्य स्वास्थ्य समस्या देखिन सक्ने भन्दै अभिभावकलाई पनि सतर्क रहन आग्रह गरिएको छ।
उपमहानगरपालिकाले विद्यालय बन्द भए पनि उक्त अवधि वर्षे विदाबाट कट्टा हुने स्पष्ट पारेको छ। यस निर्णयले विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीहरूले पछिल्ला केही दिनयता कलैया क्षेत्रमा अत्यधिक गर्मी बढेको बताएका छन्। दिनहुँ तापक्रम उच्च हुँदा जनजीवन प्रभावित बनेको छ भने विद्यालयमा अध्ययनरत बालबालिका सबैभन्दा बढी प्रभावित हुने अवस्था देखिएको छ।
शिक्षा शाखाले विद्यालय प्रशासनलाई सूचनाको पूर्ण पालना गर्न निर्देशन दिँदै विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ।



