मधेशसमाचार

रौतहटबाट सुरु भयो जमिअत उलमाए नेपालको देशव्यापी ‘शैक्षिक जागरण अभियान’

मेवालाल यादव

रौतहट , १७ चैत

जमिअत उलमाए नेपालद्वारा सञ्चालन गरिएको देशव्यापी ‘शैक्षिक जागरण अभियान’ रौतहट जिल्लाबाट औपचारिक रूपमा सुरु गरिएको छ। अभियानको शुभारम्भ यमुना माइ गाउँपालिकामा एक कार्यक्रमबीच सम्पन्न भएको हो।

मौलाना सोखत मदनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा देखिएको कमजोर अवस्था, घट्दो शैक्षिक गुणस्तर तथा विद्यालय र मदरसाबाट बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यसहित अभियान सुरु गरिएको आयोजकले जनाएको छ।

संस्थाका अनुसार यो अभियान देशव्यापी रूपमा सञ्चालन हुनेछ। अभियान अन्तर्गत समुदायस्तरमा शिक्षा सम्बन्धी जनचेतना अभिवृद्धि, विद्यार्थी तथा अभिभावकसँग अन्तरक्रिया, शैक्षिक परामर्श कार्यक्रम तथा विभिन्न प्रेरणामूलक गतिविधिहरू सञ्चालन गरिनेछ। साथै विद्यालय तथा मदरसामा नजाने बालबालिकालाई शिक्षाको पहुँचभित्र ल्याउन विशेष पहल गरिनेछ।

कार्यक्रमका अध्यक्ष मौलाना सोखत मदनीले शिक्षा समाज परिवर्तनको प्रमुख आधार भएको उल्लेख गर्दै समुदाय, अभिभावक, शिक्षक तथा स्थानीय तहबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। “शिक्षाको पहुँच विस्तार बिना दिगो सामाजिक विकास सम्भव छैन,” उहाँले भन्नुभयो।

जमिअत उलमाए नेपालले अभियान सफल बनाउन सम्पूर्ण सरोकारवाला निकाय, शैक्षिक संस्था, नागरिक समाज तथा स्थानीय समुदायलाई सक्रिय सहयोग, सहभागिता र समर्थनका लागि आह्वान गरेको छ।

ग्रामीण तथा पिछडिएका क्षेत्रमा शिक्षाको पहुँच विस्तार गर्ने लक्ष्यसहित सुरु गरिएको यो अभियानले दीर्घकालीन रूपमा शैक्षिक सुधारमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button