
बारा , १२ जेठ
मधेस प्रदेश सरकारका बिना विभागीय मन्त्री मोहम्मद समिरलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। प्रदेश सरकारको मन्त्रिपरिषद् कार्यविभाजनअनुसार उनले आजदेखि मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।
प्रदेश सरकारमा सक्रिय रूपमा काम गर्दै आएका समिरलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएपछि मधेस प्रदेशको विकास निर्माण क्षेत्रमा नयाँ आशा र अपेक्षा बढेको छ। विशेषगरी सडक, पुल, भवन, सिँचाइ, शहरी विकास तथा अन्य भौतिक पूर्वाधार निर्माणका योजनाले अब थप गति लिने विश्वास गरिएको छ।
जिम्मेवारी सम्हाल्दै मन्त्री समिरले मधेस प्रदेशको समग्र विकासका लागि भौतिक पूर्वाधार क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विगतदेखि अधुरा रहेका विकास आयोजनाहरूलाई शीघ्र सम्पन्न गराउने, गुणस्तरीय निर्माण सुनिश्चित गर्ने तथा जनताको प्रत्यक्ष सरोकार रहेका योजनालाई तीव्र गतिमा अगाडि बढाउने बताएका छन्।
मन्त्री समिरले विकास निर्माणमा पारदर्शिता, प्रभावकारिता र जनउत्तरदायित्व कायम गर्दै प्रदेश सरकारको विकास अभियानलाई सफल बनाउने लक्ष्य लिएको उल्लेख गरेका छन्। ग्रामीण सडक सञ्जाल विस्तार, पुल निर्माण, सरकारी संरचना निर्माण तथा आधारभूत पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखिने उनले जानकारी दिएका छन्।
भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेशको विकाससँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण मन्त्रालयका रूपमा हेरिने भएकाले मन्त्री समिरको जिम्मेवारीलाई राजनीतिक तथा प्रशासनिक वृत्तमा समेत चासोका साथ हेरिएको छ।
उनलाई नयाँ जिम्मेवारी प्राप्त भएपछि विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। मन्त्री समिरको नेतृत्वमा मधेस प्रदेशको विकास निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ।
मधेस प्रदेशमा पछिल्लो समय विकास निर्माणका काम सुस्त भएको गुनासो भइरहेका बेला नयाँ नेतृत्वले परिणाममुखी काम गर्दै जनताको अपेक्षा पूरा गर्ने विश्वास समेत व्यक्त गरिएको छ।



