मधेशसमाचार

रौतहटको सवगढामा ६ बुँदे सहमतिपछि पनि दुई समुदायबीच झडप जारी १२ राउण्ड हवाई फायर र ४० राउण्ड अश्रुग्यास प्रहार 

रौतहट, ०९ फागुन

रौतहटको गौर नगरपालिका ६ सबगढामा शुक्रबार भएको ६ बुँदे सहमतिपछि पनि शनिबार बिहान पुनः दुई समुदायबीच झडप भएसँगै अवस्था तनावग्रस्त बनेको छ। बिहान करिब ९ बजेदेखि ढुंगा–मुढा सुरु भएपछि स्थिति नियन्त्रणमा लिन सयौँ सुरक्षाकर्मी परिचालन गरिएको हो ।

झडप फैलिन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल का संयुक्त टोली घटनास्थलमा खटिएका छन्। जिल्ला प्रहरी प्रमुख सिताराम रिजाल र सशस्त्र प्रहरीका रामहरी अधिकारी स्वयं सवगढामा पुगेर कमाण्ड सम्हालेका छन्।

यसअघि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालको उपस्थितिमा दुवै पक्षबीच सहमति जुटेको थियो। वार्तामा सामाजिक सद्भाव कायम गर्ने संयमता अपनाउने र आउँदो २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याइएको थियो।

घटनाको पृष्ठभूमिमा सबगढामा विवाहको जन्ती बाजा बजाउँदै आउँदा मस्जिद अगाडि अवरोध भएपछि विवाद चर्किएको थियो। बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढातर्फ आउँदै गरेको जन्तीमाथि ढुंगा हानाहान हुँदा यसअघि पनि दर्जनौँ घाइते भएका थिए।

गएराति भएको झडपमा ६ जना घाइते भई प्रादेशिक अस्पताल गौर मा उपचार गरिएको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

शनिबार बिहान पुनः चार–पाँच सयको भीड जम्मा भई झडप सुरु भएपछि स्थिति नियन्त्रण बाहिर जान थालेको थियो।

अवस्था सम्हाल्न सुरक्षाकर्मीले १२ राउण्ड हवाई फायर र ४० राउण्ड अश्रुग्यास प्रहार गरेको जानकारी जिल्ला प्रहरी प्रवक्ता विष्णुप्रदीप वस्यालले बताए । हाल सुरक्षा व्यवस्था कडा पारिएको छ र प्रशासनले सबैलाई संयमता अपनाउन आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button