
बारा, ३ असार
बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा छतबाट लडेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय अन्दाजी ५० वर्षीय सोभालाल चौधरी रहेका छन्। सोमबार राति करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतमा पिसाब फेर्ने क्रममा अचानक लड्दा उनको टाउको तथा मुखमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घाइते चौधरीलाई तत्काल उपचारका लागि तामागढी अस्पताल कोल्हवी लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि एलएस न्युरो अस्पताल परवानीपुर, बारामा रेफर गरिएको थियो। उपचारकै क्रममा बिहान करिब ४ः४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे अस्पतालबाट इलाका प्रहरी कार्यालय कोल्हवीलाई बिहान ४ः५५ बजे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल तथा अस्पताल पुगेको थियो। प्रहरी सहायक निरीक्षक कलम नारायण यादवको नेतृत्वमा खटिएको टोलीले घटनाबारे थप अनुसन्धान तथा आवश्यक बुझ्ने कार्य गरिरहेको जनाएको छ।
मृतकको शव हाल अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।



