मधेशसमाचार

ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल सवार वृद्धको मृत्य चालक नियन्त्रणमा, मोटरसाइकल चालक फरार

सत्येन्द्र प्रताप सिंह
​रौतहट, ०५ असार
रौतहटको गढिमाई नगरपालिका–२ समनपुर बजारस्थित गरुडा–समनपुर सडक खण्डमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक जना वृद्धको दुःखद मृत्यु भएको छ। ट्रयाक्टरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार ६० वर्षीय वृद्धको ज्यान गएको हो।
​इलाका प्रहरी कार्यालय समनपुरका अनुसार बिहीबार दिउँसो करिब १२:४५ बजेको समयमा समनपुरबाट सर्लाहीको हजरियातर्फ जाँदै गरेको ना ३ त २३३७ नम्बरको ट्रयाक्टरले सोही दिशा तर्फ जादैं गरेको प्र.२–०३–००२ प ९८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट  ठक्कर दिएको थियो।
​ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार गढिमाई नगरपालिका वडा नम्बर ४ सुन्दरपुर बस्ने अन्दाजी ६० वर्षीय
 रामानन्द महरा गम्भीर घाइते भएका थिए। दुर्घटनामा उनको ढाड र अण्डकोषमा गम्भीर चोट लागेको तथा ​उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
​दुर्घटनालगत्तै घाइते महरालाई उद्धार गरी स्थानीय वेटर नेपाल हस्पिटल गरुडा पुर्‍याइएको थियो। त्यहाँ सामान्य उपचार गरिए पनि उनको अवस्था अत्यन्तै नाजुक भएपछि चिकित्सकले थप उपचारका लागि वीरगन्ज रेफर गरेका थिए। तर, वीरगन्ज लैजाने क्रममा दिउँसो करिब १:४५ बजेको समयमा बाटोमै उनको मृत्यु भएको वेटर नेपाल हस्पिटलका चिकित्सकले पुष्टि गरेका छन्। मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर रौतहट पठाइएको प्रहरीले जनाए ।
​प्रहरी परिचालन र चालक नियन्त्रणमा
​घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी नायब निरीक्षक  मुना पासवानको कमाण्डमा र इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्ज्वल क्षेत्रीको कमाण्डमा १५ जनाको संयुक्त प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनास्थल समनपुर प्रहरी कार्यालयबाट करिब ५०० मिटर उत्तरतर्फ पर्दछ।
​प्रहरीले दुर्घटनामा संलग्न ट्रयाक्टर र त्यसका चालक रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ३९ वर्षीय राम किशुन यादवलाई नियन्त्रणमा लिएको छ। प्रहरीको प्रारम्भिक जाँचका क्रममा चालक यादवले मादक पदार्थ सेवन नगरेको र उनीसँग सवारी चालक अनुमति पत्र समेत रहेको पाइएको छ। ​दुर्घटनापछी मोटरसाइकल चालक भने घटनास्थलबाट फरार भएका छन्। प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको छ। दुर्घटनाग्रस्त ट्रयाक्टर हाल घटनास्थलमै रहेको र त्यसलाई इलाका प्रहरी कार्यालयमा ल्याउने पहल भइरहेको प्रहरीले जनाए । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी रहेको र प्रहरीले आवश्यक कानुनी अनुसन्धान अगाडि बढाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button