मधेशसमाचार

विद्यालय बन्द हुनु नेतृत्वको असफलता हो : युवा नेता उमेश दुबे

बारा, ०६ असार

स्थानीय तहकै कारण विद्यालयमा तालाबन्दी हुनु वा स्पष्ट कारणबिना विद्यालय बन्द गरिनु नेतृत्वको असफलताको संकेत भएको युवा नेता उमेश दुबेले बताएका छन् । फेटा गाउँपालिका वडा नं. ४, बतरा टोलस्थित श्री अन्चित माध्यमिक विद्यालयका प्रधानाध्यापक पन्नालाल बैठाले सूचना जारी गर्दै विद्यालय बन्द रहेको जानकारी दिएपछि दुबेले यस्तो प्रतिक्रिया दिएका हुन् ।
दुबेका अनुसार स्थानीय निकायले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको भविष्यसँग खेलवाड हुने गरी पटक–पटक गल्ती गर्दै आएको छ । उनले यस दैनिकसँग कुरा गर्दै विद्यालयमा देखिएका विभिन्न समस्याबारे पटक–पटक फेटा गाउँपालिकाका अध्यक्ष रूस्तम अन्सारीलाई जानकारी गराउँदा पनि आवश्यक चासो नदिइएको आरोप लगाए ।
उनले निम्न माध्यमिक तहका शिक्षकलाई माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी दिनु, विद्यालयमा आधारभूत सुविधासमेत नहुनु तथा पटक–पटक गुनासो गर्दा पनि स्थानीय तहले बेवास्ता गर्नु विद्यार्थीहरूको भविष्यप्रति गम्भीर लापरवाही भएको बताए । “विद्यालय कुनै राजनीतिक अखडा होइन, यो राष्ट्रका भावी कर्णधारहरूले शिक्षा आर्जन गर्ने ज्ञानको मन्दिर हो । तर विद्यालयलाई राजनीतिक प्रभाव र स्वार्थको केन्द्र बनाइएको देख्दा दुःख लाग्छ,” दुबेले भने ।
यता एक अभिभावकले श्री अन्चित माध्यमिक विद्यालयलाई यस क्षेत्रकै पुरानो, प्रतिष्ठित र गुणस्तरीय विद्यालयका रूपमा चिनिँदै आएको स्मरण गराउँदै स्थानीय तह गठन भएपछि विद्यालयको शैक्षिक स्तर क्रमशः खस्किँदै गएको आरोप लगाए । उनका अनुसार विद्यालयमा बढ्दो राजनीतिकरणकै कारण सुधारका प्रयास प्रभावकारी हुन सकेका छैनन् । अभिभावकले विद्यालय व्यवस्थापन तथा शैक्षिक सुधारका विषयमा पटक–पटक गाउँपालिका अध्यक्षलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको दाबी गरे । यसले विद्यार्थी तथा अभिभावकमा असन्तुष्टि बढ्दै गएको उनको भनाइ छ ।
यस विषयमा प्रतिक्रिया लिन गाउँपालिका अध्यक्ष रूस्तम अन्सारीसँग बारम्बार सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन । स्थानीय सरोकारवालाहरूले शिक्षा क्षेत्रका समस्यालाई समयमै सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनीहरूको भनाइमा विद्यालयको शैक्षिक वातावरण सुधार तथा विद्यार्थीहरूको भविष्य सुरक्षित गर्न तत्काल प्रभावकारी कदम चाल्नु आवश्यक देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button