मधेशसमाचार

समानुपातिक उम्मेदवार प्रियंका दासद्वारा भाइको दाइजोबिनाको विवाह, जिल्ला बासीद्वारा उच्च प्रशंसा

साजिर मन्सूर

बारा, २३ माघ

नेपाली समाजमा गहिरोसँग जरा गाडेर बसेको दाइजो प्रथाविरुद्ध सशक्त सन्देश दिँदै नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य पदकी समानुपातिक उम्मेदवार नेतृ प्रियंका दासले आफ्ना भाइको विवाह पूर्ण रूपमा दाइजोबिना सम्पन्न गराएकी छन्। उनको यस कदमलाई सामाजिक सुधारतर्फको उदाहरणीय पहलका रूपमा लिइएको छ।

सरल, सभ्य र मर्यादित वातावरणमा सम्पन्न विवाह समारोहमा दुवै परिवारले कुनै पनि प्रकारको लेनदेन नगरी समानता, सम्मान र पारिवारिक समझदारीलाई प्राथमिकता दिएका थिए। दासले विवाह केवल दुई व्यक्तिबीचको सम्बन्ध मात्र नभई समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने अवसरसमेत भएको बताइन्।

उनका भाइ कृष्ण दासको विवाह बागमती प्रदेशको राजधानी हेटौंडामा आज हिन्दु परम्पराअनुसार धुमधामका साथ सम्पन्न भएको हो। विवाह समारोहमा दाइजोको कुनै पनि शर्त नराखी सामाजिक सन्देश दिने उद्देश्य स्पष्ट देखिएको सहभागीहरूले बताएका छन्।

प्रियंका दासले भनिन्, “दाइजो प्रथा सामाजिक विकृति हो। यसको अन्त्यका लागि सबैले आफ्नै घरबाट परिवर्तन सुरु गर्नुपर्छ।” विगत १३ वर्षदेखि बारा जिल्लामा समाजलाई सुसूचित गर्ने उद्देश्यसहित विश्वास एफएम सञ्चालन गर्दै आएकी तथा नेपाल पत्रकार महासंघ बारा शाखाकी उपाध्यक्षसमेत रहेकी दासले आफ्नो एक मात्र भाइको विवाह दाइजोबिनै गराउने सपना आज पूरा भएको बताइन्।

उनको यस साहसी निर्णयप्रति विभिन्न सामाजिक अभियन्ता, बुद्धिजीवी तथा युवाहरूले खुलेर प्रशंसा गरेका छन्। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पास्वानले दाइजोमुक्त विवाहले नेपाली समाजमा सकारात्मक सन्देश फैलाउने र अन्य परिवारलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरे।

त्यस्तै संविधान सभा सदस्य तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मधु शाही ठकुरीले यस्तो कदमले महिला सम्मान, लैङ्गिक समानता र स्वस्थ सामाजिक मूल्यको स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याउने बताइन्।

पछिल्ला वर्षहरूमा दाइजो प्रथाका कारण हुने हिंसा, आर्थिक बोझ र पारिवारिक विवादका घटना बढिरहेको सन्दर्भमा प्रियंका दासको निर्णयलाई परिवर्तनको सशक्त सुरुवातका रूपमा हेरिएको ठकुरीको भनाइ छ।

महिला सञ्जाल बारा की अध्यक्ष तथा महिला अधिकारकर्मी बबिता जयस्वालले यस्ता उदाहरणहरू बढ्दै गएमा दाइजो प्रथा क्रमशः अन्त्य हुने अपेक्षा व्यक्त गरिन्। “दासको यस उदाहरणीय कदमले परिवर्तन सम्भव छ भन्ने सन्देश समाजमा पुनः स्थापित गरेको छ,” जयस्वालले भनिन्।

दाइजोविरुद्धको यस व्यवहारिक कदमले सामाजिक चेतनामा नयाँ बहस सिर्जना गर्नुका साथै भावी पुस्तालाई सकारात्मक सन्देश दिएको स्थानीयहरूको प्रतिक्रिया छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button