
संजय तिवारी
बारा, २३ जेठ
बारा जिल्लाका विभिन्न स्थानीय तहमा भूमिगत पानीको सतह लगातार घट्दै जाँदा खानेपानीको संकट गहिरिँदै गएको छ। जलवायु परिवर्तनका कारण वर्षा प्रणालीमा आएको परिवर्तन, चुरे क्षेत्रको बढ्दो दोहन तथा भूमिगत पानीको अत्यधिक उपयोगका कारण सयौं चापाकल सुक्न थालेपछि स्थानीयवासी पानीको जोहो गर्न संघर्ष गर्न बाध्य भएका छन्।
जिल्लाको सिम्रौनगढ नगरपालिका, देवताल गाउँपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, फेटा गाउँपालिका, विश्रामपुर गाउँपालिका, प्रसौनी गाउँपालिका तथा कलैया उपमहानगरपालिका लगायतका क्षेत्रमा वैशाखको दोस्रो सातादेखि नै पानीको अभाव देखिन थालेको स्थानीयहरू बताउँछन्। गर्मीको तीव्रता बढेसँगै समस्या थप विकराल बन्दै गएको छ।
पचरौता नगरपालिका–१ का वडाध्यक्ष बिनय सिंहका अनुसार वडाभित्र रहेका अधिकांश चापाकलले पानी दिन छाडेका छन्। “हाम्रो वडाका करिब ८० प्रतिशत चापाकल सुकिसकेका छन्। दैनिक उपभोगका लागि समेत स्थानीयलाई टाढाबाट पानी ल्याउनुपर्ने अवस्था छ,” उनले बताए।
भारतसँग सीमा जोडिएको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा पनि पानीको समस्या उस्तै छ। स्थानीय समाजसेवी तथा पूर्व वडाध्यक्ष शंकर गुप्ताका अनुसार बस्तीमा रहेका प्रत्येक तीनमध्ये एक चापाकल सुकिसकेको छ। उनले २०७२ सालको भूकम्पपछि भूमिगत पानीको तहमा परिवर्तन देखिन थालेको र त्यसयता समस्या झन् बढ्दै गएको बताए।
“पहिले सजिलै पानी पाइन्थ्यो, अहिले वर्षेनी चापाकल सुक्ने संख्या बढिरहेको छ। पानीको सतह तल झर्दै गएको स्पष्ट देखिन्छ,” उनले भने।
खानेपानी क्षेत्रका जानकारहरूका अनुसार मधेशमा देखिएको पानी संकटको मुख्य कारण चुरे क्षेत्रको विनाश र भूमिगत जलस्रोतको कमजोर पुनर्भरण हो। चुरे क्षेत्रबाट बगेर आउने वर्षाको पानी जमिनभित्र सञ्चित हुनुपर्नेमा वन फँडानी, नदीजन्य पदार्थको अत्यधिक उत्खनन तथा अव्यवस्थित भौतिक पूर्वाधार निर्माणका कारण प्राकृतिक पुनर्भरण प्रक्रिया प्रभावित भएको उनीहरूको भनाइ छ।
नेपाल खानेपानी संस्थान कलैयाका प्रमुख सञ्जीव यादवका अनुसार मधेश प्रदेशको अधिकांश भू–जल स्रोत चुरे क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको छ। चुरे क्षेत्रको संरक्षण कमजोर बन्दै जाँदा भूमिगत पानीको भण्डारण क्षमता पनि घट्दै गएको उनले बताए।
उनले दीर्घकालीन अध्ययनबिना सञ्चालन गरिएका गहिरा डिप बोरिङले समेत समस्या बढाएको उल्लेख गरे। “३०० देखि ४०० फिट गहिराइसम्मका बोरिङमार्फत अत्यधिक पानी निकालिँदा उथला तहका चापाकलहरू प्रभावित भएका छन्। एकातिर पानी पुनर्भरणको दर घटेको छ भने अर्कोतिर दोहन बढेको छ,” यादवले भने।
विज्ञहरूका अनुसार समस्या समाधानका लागि वर्षाको पानी संकलन तथा पुनर्भरण कार्यक्रम विस्तार, परम्परागत इनार संरक्षण, चुरे क्षेत्रको प्रभावकारी संरक्षण, भू–जल उपयोगको वैज्ञानिक नियमन तथा विकास निर्माणलाई वातावरणमैत्री बनाउन आवश्यक छ।
उनीहरूले अहिलेको अवस्था केवल मौसमी समस्या नभई भविष्यमा मधेशले भोग्न सक्ने गम्भीर जल संकटको प्रारम्भिक संकेत भएको बताएका छन्। समयमै प्रभावकारी योजना लागू गर्न नसके बारा लगायत मधेशका धेरै जिल्लामा खानेपानीको अवस्था अझ चुनौतीपूर्ण बन्न सक्ने चेतावनी उनीहरूको छ।
स्थानीयवासीहरूले भने सरकारले तत्काल राहतका कार्यक्रमसँगै दीर्घकालीन जलस्रोत संरक्षण तथा पुनर्भरण योजनालाई प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन्। बढ्दो तापक्रम, अनियमित वर्षा र सुक्दै गएका चापाकलहरूले बारामा जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा देखिन थालेको उनीहरूको भनाइ छ।



