मधेशसमाचार

टिप्परको ठक्करबाट साइकलयात्रीको मृत्यु, गरुडामा शव राखेर सडक अवरुद्ध

रौतहट , २६ जेठ
रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित गरुडा–समनपुर सडकखण्डमा टिप्परको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएपछि आक्रोशित परिवारजन तथा स्थानीयवासीले गरुडाको मेथुर चोकमा शव राखेर सडक अवरुद्ध गरेका छन्।
मृतकको पहिचान गढीमाई नगरपालिका–९ निवासी रघुनाथ सहनीका अन्दाजी ३५ वर्षीय छोरा प्रमोद सहनीका रूपमा भएको प्रहरीले जनाए । प्रारम्भिक जानकारीअनुसार नम्बर नखुलेको टिप्परले साइकलमा सवार सहनीलाई ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेको र घटनास्थलमै मृत्यु भएको थियो।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शङ्कर प्रसाद आचार्यका अनुसार सोमबार बिहान करिब ६ बजे स्थानीयवासीले सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाउने, प्रमाण सङ्कलन गर्ने तथा अनुसन्धान अघि बढाउने काम गरेको थियो।
दुर्घटनापछि मृतकका परिवारजन र स्थानीयवासी आक्रोशित बनेका छन्। दोषी सवारी चालकलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति र न्याय दिनुपर्ने माग राख्दै उनीहरूले गरुडाको मेथुर चोकमा शव राखेर पूर्व–पश्चिम सडक अवरुद्ध गरेका हुन्।
सडक अवरुद्ध भएपछि उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ। स्थिति सामान्य बनाउन प्रहरी र स्थानीय प्रशासनले पीडित पक्षसँग छलफल गरिरहेको जनाएको छ।
प्रहरीले फरार सवारी साधन र चालकको खोजी तीव्र पारिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाउने तयारी भइरहेको प्रहरीले जनाए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button