
बारा, २५ जेठ
भारतसँग जोडिएको बाराको सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणको जिम्मेवारी बोकेको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प बरियारपुर यतिबेला गम्भीर आरोपको घेरामा परेको छ। क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रमेश कंडेलको कार्यकालमा केही सुरक्षाकर्मीमार्फत अवैध असुलीको सञ्जाल सञ्चालन भएको तथा सीमावर्ती नाकाबाट हुने तस्करी गतिविधिलाई संरक्षण प्रदान गरिएको आरोप सार्वजनिक भएपछि स्थानीय तहमा व्यापक चर्चा सुरु भएको छ।
स्थानीय स्रोत, सुरक्षा निकायभित्रका केही स्रोत तथा सीमावर्ती क्षेत्रका सरोकारवालाहरूले क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान राम प्रवेश कुशवाहालाई अनौपचारिक रूपमा ‘घुमुवा’को भूमिकामा परिचालन गरिएको दाबी गरेका छन्। आधिकारिक रूपमा कोट मास्टरको जिम्मेवारीमा रहेका कुशवाहाले सीमावर्ती क्षेत्रको गतिविधि समन्वय र निगरानीको नाममा विभिन्न स्थानमा सक्रिय भूमिका खेलेको आरोप छ।
स्रोतहरूका अनुसार सिम्रौनगढ, कवहीगोठ, दक्षिण झिटकैया, मटिअर्वालगायतका सीमावर्ती नाकाबाट भित्रिने विभिन्न मालसामान बरियारपुर तथा गञ्जभवानीपुर क्षेत्रमा भण्डारण हुने गरेको र त्यसक्रममा आर्थिक लेनदेन हुने गरेको आरोप लगाइएको छ। केही स्थानीय स्रोतहरूले तस्करी नियन्त्रणका लागि खटिनुपर्ने सुरक्षाकर्मीहरूकै संरक्षणमा अवैध सामानको आवतजावत सहज बनाइएको दाबी गरेका छन्।
स्थानीय बासिन्दा तथा केही व्यवसायीहरूले कलैया–बरियारपुर सडकखण्डस्थित सशस्त्र प्रहरी चेकपोष्ट आसपासबाट नियमित रूपमा रकम असुली हुने गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार भारतीय नम्बर प्लेटका सवारीसाधन, माछा बोकेका गाडी, चौपाया ओसारपसार गर्ने सवारी तथा अन्य मालवाहक साधनबाट जाँचको नाममा रकम उठाइने गरेको गुनासो लामो समयदेखि सुनिँदै आएको छ।
स्थानीय स्रोतहरूका अनुसार चेकपोष्टमा संकलन हुने रकमको निश्चित ‘व्यवस्था’ रहेको र त्यसमा केही सुरक्षाकर्मीहरूको प्रत्यक्ष संलग्नता रहेको आशंका गरिएको छ।
मदिरा भट्टीदेखि सीमावर्ती बजारसम्म असुलीको दाबी
सशस्त्र प्रहरी स्रोतको दाबीअनुसार जवान कुशवाहाले गञ्जभवानीपुर, नौतन तथा कोतवाली क्षेत्रका केही मदिरा भट्टी तथा सीमावर्ती व्यवसायिक गतिविधिबाट समेत नियमित रूपमा रकम संकलन गर्ने गरेको आरोप छ। स्रोतले दाबी गरेअनुसार चेकपोष्ट तथा अन्य स्थानबाट संकलित रकमको एक हिस्सा माथिल्लो तहसम्म पुग्ने गरेको चर्चा संगठनभित्रै हुने गरेको छ।
त्यस्तै केही स्रोतहरूले जवान कुशवाहा र सशस्त्र प्रहरी निरीक्षक कंडेलले सीमावर्ती क्षेत्रका केही तस्कर तथा स्थानीय व्यक्तिहरूसँग नियमित भेटघाट र भोजभतेर गर्ने गरेको आरोप समेत लगाएका छन्।
आरोपबारे प्रतिक्रिया लिन खोज्दा सशस्त्र प्रहरी निरीक्षक रमेश कंडेलले आफू र आफ्नो क्याम्पमाथि लगाइएका आरोपहरू अस्वीकार गरेका छन्। उनले जवान राम प्रवेश कुशवाहा कोट मास्टरको जिम्मेवारीमा मात्र रहेको र आवश्यक रासन तथा अन्य सामग्री ल्याउने काममा सहयोग गर्ने गरेको बताएका छन्।
“यदि कसैसँग कुनै प्रमाण वा गुनासो छ भने प्रत्यक्ष रूपमा आएर जानकारी गराओस्,” उनले भनेका छन्।
उनले आफ्नो नेतृत्वमा क्याम्पले तस्करी नियन्त्रण तथा सीमा सुरक्षाका लागि सक्रिय रूपमा काम गरिरहेको दाबी गरेका छन्।
स्थानीय सरोकारवाला, नागरिक समाजका प्रतिनिधि तथा सीमावर्ती क्षेत्रका बासिन्दाहरूले भने यस्ता गुनासाहरू पटक–पटक उठिरहेकाले सम्बन्धित निकायले निष्पक्ष र पारदर्शी छानबिन गर्नुपर्ने माग गरेका छन्।
उनीहरूको भनाइमा यदि आरोप निराधार सावित भए सम्बन्धित सुरक्षाकर्मीको प्रतिष्ठा जोगिनुपर्छ, तर आरोप सत्य ठहरिए राज्यको सुरक्षा संयन्त्रमाथिको जनविश्वास जोगाउन दोषीमाथि कडा कारबाही हुनुपर्छ।
सीमा सुरक्षा, तस्करी नियन्त्रण र राजस्व संरक्षणजस्ता संवेदनशील जिम्मेवारी बोकेको निकायमाथि नै संरक्षण र अवैध असुलीका आरोप लाग्नु गम्भीर विषय भएको भन्दै स्थानीयहरूले सशस्त्र प्रहरी बलको प्रदेश तथा केन्द्रीय नेतृत्वले घटनाबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
आरोप र प्रत्यारोपबीच वास्तविकता के हो भन्ने विषय अब सम्बन्धित निकायको आधिकारिक अनुसन्धान र छानबिनले मात्र स्पष्ट पार्ने देखिएको छ। हालका लागि भने बरियारपुर सुरक्षा बेस क्याम्पमाथि उठेका प्रश्नहरूले सीमा सुरक्षाको प्रभावकारिता र सुरक्षाकर्मीहरूको भूमिकामाथि नयाँ बहस सुरु गराएको छ।



