
बारा ,१० असोज
रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका नेपाली सेनाका जवान सुरजकुमार साहको एक महिनापछि धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ।
बाढीमा बेपत्ता भएको लामो समयसम्म पनि साहको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले शनिबार बाराको सुवर्ण गाउँपालिका–१ स्थित टियरी नदी किनारमा कुशबाट उनको प्रतीकात्मक शव बनाएर दाहसंस्कार गरेको हो।
सुवर्ण गाउँपालिका–१ सोलकपुर कुम्हटोलीका साह नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत थिए। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका बेला ड्युटीमा रहेका उनी बेपत्ता भएका थिए। त्यसयता नेपाली सेना, परिवार तथा आफन्तले खोजी जारी राखे पनि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेन।
लामो समयसम्म खोजी गर्दा समेत जीवित वा मृत अवस्थाबारे यकिन हुन नसकेपछि परिवारले धार्मिक संस्कारअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरेको जनाएको छ।
अन्तिम संस्कारअघि नेपाली सेनाले साहप्रति सैनिक सम्मान व्यक्त गर्दै सलामी अर्पण गरेको थियो। त्यसपछि परिवारजनले धार्मिक विधिअनुसार कुशको शवको दाहसंस्कार गरेका थिए।
साहको अन्तिम संस्कारमा सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, नेपाली कांग्रेसका नेता सतेन्द्र यादव, जेन्जी अगुवा अजय यादव, नेपाली सेनाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।
बाढीमा बेपत्ता भएदेखि नै साहको परिवारले उनको अवस्था पत्ता लगाउन सम्बन्धित निकायसँग निरन्तर पहल गर्दै आएको थियो। तर एक महिनासम्म पनि कुनै ठोस जानकारी नआएपछि परिवारले भारी मनका साथ परम्पराअनुसार उनको अन्तिम संस्कार गरेको हो।


