मधेशसमाचार

जीनाथ बाबा मेला विधिवत् उद्घाटन, निसन्तान दम्पतीका लागि आस्थाको केन्द्र

बारा, प्रसौनी–५

निसन्तान दम्पतीलाई सन्तान प्राप्ति हुने आस्थाका केन्द्रको रूपमा देश–विदेशमा चर्चित तास्केश्वर नाथ जीनाथ बाबाको वार्षिक मेला यो वर्ष पनि विधिवत् रूपमा सुरू गरिएको छ। बारा क्षेत्र नं. ४ (ख) का नेपाली कांग्रेसका सभापति लोकेश सिंहले विधिपूर्वक पूजाआजा गर्दै मेलाको उद्घाटन गरेका छन्।

उद्घाटन समारोहमा मन्दिरका पुजारी धनलाल ठाकुर, बारा प्रहरी निरीक्षक खेम नेपाल, गण्डक इलाका प्रहरी कार्यालयका राज किशोर यादव, समाजसेवी बिरेन्द्र शाह, रमेश शाह, विजकिश्वर साहलगायतको उपस्थिति रहेको थियो।

मंसिर १ र २ गतेसम्म लाग्ने यस मेलामा निसन्तान दम्पतीले भाकल पूर्ति गर्ने परम्परा मुख्य आकर्षणका रूपमा रहने गर्दछ। भक्तजनले २४ घन्टे जाम (धाम–धुमसहित गरिने धार्मिक अनुष्ठान) गराई सन्तान प्राप्तिको खुसीमा भाकल पूरा गर्ने गरेका छन्। यस वर्ष मात्र चार–पाँच स्थानमा यस्तो अनुष्ठान भइरहेको मेलास्थलले जनाएको छ।

जीनाथ बाबाप्रतिको आस्था नेपाल मात्र नभई भारतका बिहार, उत्तर प्रदेशसम्म फैलिएको छ। स्थानीयको भनाइअनुसार अमेरिकामा बसोबास गर्दै आएका दम्पती रेणुका शाहले जीनाथ बाबाको कृपाले सन्तान प्राप्ति भएपछि कृतज्ञतास्वरूप मन्दिरमा ८० किलोको घन्टी र मार्बलको गेट जडान गरी करिब ५ लाख रुपैयाँ बराबरको योगदान दिएका थिए।

मेलामा धार्मिक कार्यक्रमसँगै सबै उमेरका लागि आकर्षक खेल–तमासा, झुलुवा तथा मनोरञ्जनका विविध स्टल सञ्चालनमा छन्।

जीनाथ बाबाको मेलामा दर्शन गरि मागिएको भाकल पुरा हुने जनविश्वास वर्षौँदेखि निरन्तर रहँदै आएको मेला समिति अध्यक्ष केदार साहले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button