मधेशसमाचार

जगरनाथपुरमा निःशुल्क आँखा शिविर सम्पन्न: १६१ जना लाभान्वित, ३३ जनामा मोतियाबिन्द पहिचान

हरिकोशोर शर्मा

पर्सा १७ चैत

पर्साको जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुर धर्मशालामा सोमबार निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। तिलगंगा सामुदायिक आँखा अस्पताल को आयोजना तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविर युवा नेता बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।

शिविरमा अनुभवी चिकित्सकहरूको टोलीले स्थानीय बासिन्दाहरूलाई आँखा परीक्षण तथा परामर्श सेवा प्रदान गरेको थियो। सेवामा संलग्न चिकित्सकहरूमा डा. महेश सिंह घामी, डा. कृष्ण कुशवाहा र डा. रीमा खड्की रहेका थिए। साथै स्वास्थ्यकर्मी सुनिता देवकोटा, रोशनी गिरी लगायत स्थानीय स्वयंसेवकहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

शिविरमा कुल १६१ जनाको आँखा परीक्षण गरिएकोमा ३३ जनामा मोतियाबिन्द समस्या पहिचान भएको आयोजकले जनाएको छ। त्यस्तै, ३८ जनालाई निःशुल्क औषधि (आँखा ड्रप) वितरण गरिएको थियो।

मोतियाबिन्द देखिएका बिरामीहरूलाई थप उपचारका लागि तत्कालै अस्पतालको सवारी साधनमार्फत हेटौंडा लगिएको छ। उनीहरूको १७ चैतमा शल्यक्रिया गरिने र १८ चैतमा पुनः लक्ष्मीपुरमै ल्याइने कार्यक्रम रहेको डा. महेश सिंह घामीले जानकारी दिए।

यस प्रकारको निःशुल्क स्वास्थ्य सेवाबाट लाभान्वित स्थानीय बासिन्दाहरूले आयोजक संस्था, चिकित्सक टोली तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेका छन्। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न यस्ता शिविरहरूले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button