मधेशसमाचार

देवताल गाउँपालिकाको १६औँ गाउँसभा सम्पन्न, ३९ करोड ७० लाखभन्दा बढीको बजेट प्रस्तुत

बारा,  ० ९ असार

बाराको देवताल गाउँपालिकाको १६औँ गाउँसभा भव्य रूपमा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवको अध्यक्षतामा तथा गाउँपालिका उपाध्यक्ष सितापति देवी यादवको सहकार्यमा सम्पन्न गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो ।

गाउँपालिका अध्यक्ष यादवले नै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा अनुमानित आय–व्यय विवरण प्रस्तुत गर्दै कुल ३९ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए । प्रस्तुत बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सिंचाइ, सामाजिक सुरक्षा तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।

गाउँसभामा गाउँपालिकाको प्रशासनिक व्यवस्थापन, सेवा प्रवाह तथा विकास योजनाको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्द रायको विशेष प्रशंसा गरिएको थियो । गाउँपालिका अध्यक्ष यादवसहित विभिन्न जनप्रतिनिधिहरुले रायले सीमित स्रोत–साधनका बाबजुद प्रशासनलाई व्यवस्थित, पारदर्शी र जनउत्तरदायी बनाउन उल्लेखनीय योगदान पुर्‍याएको बताएका थिए ।

वक्ताहरूले प्रमुख प्रशासकीय अधिकृत रायले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय कायम गर्दै विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाएको उल्लेख गरे । आर्थिक अनुशासन कायम गर्ने, योजनाको कार्यान्वयनलाई तीव्रता दिने तथा सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने कार्यमा उनको भूमिका प्रशंसनीय रहेको धारणा व्यक्त गरिएको थियो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कृषिको आधुनिकीकरण, सिंचाइ विस्तार, विद्यालयको शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य संस्थाको सुदृढीकरण, ग्रामीण सडक स्तरोन्नति तथा खानेपानी व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ । त्यस्तै महिला, दलित, विपन्न तथा पिछडिएका समुदायको उत्थानका लागि लक्षित कार्यक्रमसमेत समावेश गरिएको छ ।

कार्यक्रममा सम्पूर्ण वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँपालिकाका कर्मचारीहरू, सुरक्षाकर्मी, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा भद्रभलाद्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्द रायले स्वागत मन्तव्य व्यक्त गर्दै गाउँपालिकाको समग्र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए ।

उनले सुशासन, पारदर्शिता र उत्तरदायी प्रशासनमार्फत जनताको अपेक्षाअनुसार सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए । स्थानीय तहको विकासमा जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज र स्थानीयवासीबीचको सहकार्य नै सफलताको आधार हुने उनको भनाइ थियो ।

गाउँसभा समापन गर्दै गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले आगामी आर्थिक वर्षमा विकास निर्माणका कामलाई थप गति दिइने तथा जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर काम गरिने बताए । उनले समृद्ध र आत्मनिर्भर देवताल निर्माणका लागि सबै पक्षको साथ, सहयोग र सुझाव आवश्यक रहेको धारणा व्यक्त गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button