
कलैया,२१ जेठ
नेपाली कांग्रेसले बारा जिल्ला कार्यसमितिका सभापति राजेश राय यादव लाई पार्टीको जिम्मेवारीबाट निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन सक्रिय भूमिका खेलेको तथा पार्टी अनुशासन उल्लंघन गरेको आरोपमाथि अनुसन्धान जारी रहेकाले उनलाई अन्तिम निर्णय नआउँदासम्मका लागि सभापतिको अधिकार प्रयोग गर्न नपाउने गरी निलम्बन गरिएको हो।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बिहीबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले उक्त निर्णय गरेको जनाएको छ। समितिका संयोजक तारामान गुरुङ को अध्यक्षतामा बसेको बैठकले यादवमाथि लागेको आरोप गम्भीर प्रकृतिको रहेको निष्कर्ष निकाल्दै थप अनुसन्धान आवश्यक देखिएकाले निलम्बनको कदम चालिएको जनाएको छ।
पार्टी स्रोतका अनुसार प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारको हितविपरीत गतिविधि गरेको भन्दै यादवविरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी दर्ता भएको थियो। सोही उजुरीका आधारमा समितिले प्रारम्भिक छानबिन प्रक्रिया अघि बढाएको थियो। अनुशासन समितिले पहिलो चरणमा वैशाख ३० गते यादवलाई पाँच दिनभित्र आफ्नो धारणा स्पष्ट पार्न स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो।
तर समितिको दाबीअनुसार तोकिएको समयसीमाभित्र यादवबाट कुनै लिखित जवाफ प्राप्त भएन। त्यसपछि समितिले दोस्रो पटक जेठ १२ गते पुनः तीन दिनको समयसीमा तोकेर स्पष्टीकरण माग गरेको थियो। तर दोस्रो पटकको पत्राचारलाई समेत उनले बेवास्ता गरेको समितिले जनाएको छ। पार्टीको अनुशासन प्रणालीअनुसार स्पष्टीकरणको अवसर प्रदान गरिए पनि त्यसप्रति कुनै प्रतिक्रिया नआएपछि समितिले थप कडा कदम चाल्नुपर्ने अवस्था सिर्जना भएको जनाएको छ।
दुई-दुई पटक स्पष्टीकरणको अवसर दिँदा पनि कुनै जवाफ नआएको विषयलाई समितिले गम्भीर रूपमा लिएको छ। पार्टी नेतृत्वका अनुसार अनुसन्धान प्रक्रियामा सहयोग नगर्नु र अनुशासन समितिको निर्देशनलाई बेवास्ता गर्नु पनि छुट्टै अनुशासनहीनताको विषय बन्न सक्ने भएकाले घटनाको समग्र पक्षमाथि थप अध्ययन गरिनेछ। समितिले आवश्यक प्रमाण, उजुरी तथा सम्बन्धित पक्षका विवरणको अध्ययनपछि अन्तिम निर्णय गर्ने जनाएको छ।
राजेश राय यादव बारा जिल्लामा कांग्रेसका प्रभावशाली नेतामध्ये एक मानिन्छन्। जिल्ला सभापति जस्तो महत्वपूर्ण पदमा रहेका व्यक्तिलाई पार्टीले निलम्बन गरेको घटनाले बाराको कांग्रेस राजनीतिमा नयाँ बहस सुरु भएको छ। आगामी निर्णयले जिल्लाको आन्तरिक शक्ति सन्तुलन, संगठनात्मक गतिविधि तथा स्थानीय राजनीतिक समीकरणमा समेत प्रभाव पार्न सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।
कांग्रेसभित्र पछिल्लो समय निर्वाचनमा पार्टी हितविपरीत गतिविधि गर्ने तथा आधिकारिक उम्मेदवारविरुद्ध खुलेआम वा अप्रत्यक्ष रूपमा लाग्ने नेताकार्यकर्तामाथि कडा कारबाही गर्ने नीति अपनाइएको छ। सोही नीतिअन्तर्गत बारा जिल्ला सभापति यादवमाथि पनि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताइएको छ। अब अनुशासन समितिको अन्तिम निर्णयले उनको राजनीतिक भविष्य र पार्टीभित्रको भूमिकाबारे थप स्पष्टता दिने अपेक्षा गरिएको छ।



