
रौतहट , २९ जेठ
रौतहटको गौर नगरपालिका स्थित एक आधारभूत विद्यालयका अति विपन्न तथा जेहेन्दार बालबालिकाहरूलाई खुट्टामा चप्पल वितरण गरिएको छ। गौर नगरपालिकाको वडा नम्बर २ मा रहेको श्री आधारभूत विद्यालय महादेवपट्टीमा अध्ययनरत १०८ जना आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरूलाई चप्पल वितरण गरिएको हो।
लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका अभियन्ता सन्तोष पौडेलको व्यक्तिगत लगानी र सौजन्यमा विद्यालयका विपन्न बालबालिकाहरूलाई लक्षित गरी उक्त राहत सामग्री प्रदान गरिएको बताइएको छ। चप्पल अभावका कारण कतिपय बालबालिकाहरू खाली खुट्टै विद्यालय आउनुपर्ने बाध्यतालाई दृष्टिगत गर्दै यो सहयोग उपलब्ध गराइएको हो।
विद्यालय प्राङ्गणमा बिहीबार आयोजित एक संक्षिप्त तर विशेष कार्यक्रमका बीच अभियन्ता पौडेलले विद्यार्थीहरूलाई आलोपालो गरी चप्पल हस्तान्तरण गरेका थिए। नयाँ चप्पल पाएपछि विद्यालयका साना बालबालिकाहरू निकै उत्साहित र खुसी देखिएका थिए।
चप्पल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक अभियन्ता सन्तोष पौडेलले शिक्षा आर्जन गर्ने बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्नु समाजका हरेक सचेत नागरिकको दायित्व भएको बताए। आर्थिक अभावकै कारण कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट बञ्चित हुनु हुँदैन, पौडेलले भने विपन्न परिवारका यी बालबालिकाहरूको शैक्षिक यात्रामा थोरै भए पनि राहत र हौसला मिलोस् भन्ने उद्देश्यले यो सानो सहयोग गरेको हुँ।
उनले राज्यको स्रोत साधनले मात्रै सबै क्षेत्र समेट्न नसक्ने उल्लेख गर्दै आगामी दिनहरूमा पनि रौतहट जिल्लाका ग्रामीण क्षेत्रका अति सीमान्तकृत समुदायको शिक्षा स्वास्थ्य र सामाजिक रूपान्तरणका क्षेत्रमा आफ्नो व्यक्तिगत तथा संस्थागत सहयोग निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका, स्थानीय भद्रभलाद्मी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय प्रशासन र स्थानीय समुदायले अभियन्ता पौडेलको यो मानवीय कार्यको उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए। ग्रामीण भेगका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई यस्ता साना लाग्ने तर व्यावहारिक सहयोगले विद्यालयमा उनीहरूको नियमितता बढाउन ठूलो मद्दत पुग्ने विश्वास स्थानीय सरोकारवालाहरूले व्यक्त गरेका छन्।



