मधेशसमाचार

विद्यालयमै गम्भीर आँखा समस्या: १४ वर्षीया बालिकामा मोतियाबिन्दु, ३७ विद्यार्थीलाई चस्मा आवश्यक

रौतहट, २९ जेठ
नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित गौर आँखा अस्पताल द्वारा सञ्चालन गरिएको नमुना बृहत् आँखा महाअभियान अन्तर्गत गौर नगरपालिका–५ स्थित आई.बी.ए. स्कुलमा गरिएको विशेष आँखा परीक्षणमा विद्यालय उमेरका बालबालिकामा गम्भीर दृष्टि समस्या देखिएको छ।
कुल ७८७ जना विद्यार्थीको आँखा परीक्षण गर्दा १४ वर्षीया एक छात्रामा अन्धोपनको प्रमुख कारण बन्न सक्ने मोतियाबिन्दु (क्याटार्याक्ट) फेला परेको छ भने ३७ जना विद्यार्थीमा दृष्टिदोष देखिएकाले चस्मा आवश्यक भएको चिकित्सकहरूले जनाएका छन्।
चिकित्सकहरूका अनुसार समयमै उपचार तथा चस्माको प्रयोग नगरे अध्ययन, दैनिक जीवन र भविष्यमा दीर्घकालीन असर पर्न सक्ने जोखिम रहेको छ।
कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई हरियो सागसब्जी तथा पहेँलो फलफूलको सेवन बढाउन, मोबाइल तथा डिजिटल उपकरणको अत्यधिक प्रयोग घटाउन र नियमित आँखा परीक्षण गराउन सुझाव दिइएको थियो। सो अवसरमा १ हजारभन्दा बढी विद्यार्थी, शिक्षक तथा अभिभावकलाई आँखा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सन्देशसमेत प्रदान गरिएको अस्पतालले जनाएको छ।
परीक्षणमा थप उपचार आवश्यक देखिएका विद्यार्थीलाई शनिबार गौर आँखा अस्पतालमा विशेषज्ञ चिकित्सकद्वारा पुनः परीक्षण गरी निःशुल्क चस्मा वितरण गरिने भएको छ।
यसैबीच, समाजसेवी अञ्जु झा माण्डवीको पहलमा ईशनाथ नगरपालिका–औरैयामा सम्पन्न ज्येष्ठ नागरिक लक्षित निःशुल्क आँखा शिविरमा छनोट भएका २१ जनाको मोतियाबिन्दु शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको नेतृत्व अस्पतालका प्राविधिक कर्मचारी अशोक पासवानले गरेका थिए भने व्यवस्थापनमा शिवशंकर राउतसहितको टोली सक्रिय रहेको थियो। अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेयका अनुसार विभिन्न दातृ निकायको सहयोगमा अस्पतालले लामो समयदेखि हजारौँ नागरिकलाई गुणस्तरीय आँखा सेवा प्रदान गर्दै आएको छ।
आगामी जेठ ३० गते यमुनामाई गाउँपालिका–स्थित श्री जनता माध्यमिक विद्यालय सरुअठामा निःशुल्क आँखा जाँच तथा शल्यक्रियाका लागि छनोट भएका बिरामीहरूको लागि यातायातसहितको वृहत् शिविर सञ्चालन गरिने अस्पतालले जनाएको छ।
“हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी — आँखा सेवामा सबैको साझेदारी” भन्ने नारासहित सञ्चालन भइरहेको यो अभियानले रौतहट तथा आसपासका जिल्लामा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै हजारौँ नागरिकको जीवनमा उज्यालो ल्याइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button