
सत्येन्द्र प्रताप सिंह
रौतहट , ०५ असार
रौतहटको राजपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५० करोडभन्दा बढीको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको छ। बिहीबार सम्पन्न नगरपालिकाको ऐतिहासिक १० औं नगर सभामा नगर प्रमुख डा. राजिक आलमले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट घोषणा गरेका हुन् ।
नगर प्रमुख डा. आलमले सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ५० करोड १९ लाख ७८ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरे । चालु आर्थिक वर्षको समीक्षा गर्दै प्रस्तुत गरिएको उक्त बजेटमा नगरको समग्र पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखिएको छ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख डा. राजिक आलमले नगरवासीको जीवनस्तरमा सुधार ल्याउन र राजपुरलाई समृद्ध बनाउन उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरिने प्रतिबद्धता व्यक्त गरे । उनले भन्ने यो बजेटले नगरको अधुरा योजनाहरूलाई पूर्णता दिँदै स्थानीय उत्पादन वृद्धि र सामाजिक सुरक्षाका क्षेत्रमा विशेष जोड दिएको छ।
१० औं नगर सभाको विशेष अवसरमा नगर उप-प्रमुख, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृतका साथै अन्य स्थानीय जनप्रतिनिधि र कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सभामा उपस्थित जनप्रतिनिधिहरूले नगर प्रमुखद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि आ-आफ्नो धारणा राख्दै बजेट कार्यान्वयनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।



