मधेशसमाचार

परवानीपुर गाउँपालिकाद्वारा बजार अनुगमन, म्याद गुज्रेका सामान र सरसफाइमा विशेष निगरानी

बारा, ०५ असार
परवानीपुर गाउँपालिकाले बजार क्षेत्रमा सञ्चालन भइरहेका औषधि पसल, किराना, होटल तथा मसला पसलहरूको अनुगमन गर्दै व्यवसाय दर्ता, सरसफाइ तथा म्याद गुज्रेका सामग्री नियन्त्रणमा कडाइ थालेको छ।
गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको नेतृत्वमा बिहीबार गरिएको अनुगमनमा उपाध्यक्ष सुगान्धी देवी कनुइन, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, स्वास्थ्य शाखा प्रमुख जयकृष्ण मिश्र, राजश्व शाखा प्रमुख कृष्णा प्रसाद यादव, प्रशासन शाखा प्रमुख लक्ष्मी बडाल, सूचना प्रविधि शाखा प्रमुख रबी जैसवाल, गाउँ प्रहरी प्रमुख महानन्द कुर्मी तथा गाउँ प्रहरीको टोली सहभागी रहेको थियो।
अनुगमन टोलीले गाउँपालिका क्षेत्रभित्र रहेका ३ वटा औषधि पसल, ५ वटा किराना पसल, ६ वटा होटल तथा ३ वटा मसला पसलको निरीक्षण गरेको जनाएको छ। निरीक्षणका क्रममा औषधि तथा अन्य खाद्य सामग्रीको अन्तिम म्याद, होटलको सरसफाइ अवस्था, खाद्य वस्तुको भण्डारण तथा व्यवसाय सञ्चालन प्रक्रियाको अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा केही पसल तथा होटलहरूमा सरसफाइमा कमी, म्याद गुज्रिन लागेका सामग्री तथा व्यवसाय दर्ता नगरी सञ्चालन गरिरहेको अवस्था भेटिएको गाउँपालिकाले जनाएको छ। टोलीले त्यस्ता व्यवसायीलाई तत्काल सुधार गर्न निर्देशन दिँदै पालिकामा अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न आग्रह गरेको छ।
गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर बजार अनुगमनलाई प्राथमिकता दिइएको बताए। उनले बजार क्षेत्रमा गुणस्तरीय सेवा, स्वच्छ खाद्य सामग्री र कानुनी प्रक्रिया पालना सुनिश्चित गर्न नियमित अनुगमनलाई निरन्तरता दिइने जानकारी दिए।
स्वास्थ्य शाखा प्रमुख जयकृष्ण मिश्रले म्याद गुज्रेका औषधि तथा खाद्य सामग्री बिक्री वितरणले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले व्यवसायीहरूलाई सचेत रहन आग्रह गरे। त्यस्तै होटल तथा खाद्य व्यवसाय सञ्चालन गर्नेहरूले सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनले बताए।
गाउँपालिकाले आगामी दिनमा पनि बजार अनुगमनलाई अझ प्रभावकारी बनाउँदै उपभोक्ता हित संरक्षण, राजश्व दायरा विस्तार तथा व्यवसायलाई व्यवस्थित बनाउने अभियान जारी राख्ने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button