मधेशसमाचार

विकासको गतिमा नयाँ सन्देश : मन्त्री महम्मद समीरको कडा निर्देशनपछि पूर्वाधार क्षेत्रमा बढ्यो आशा

बारा , १४ जेठ

मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री माननीय महम्मद समीरले प्रदेशका आठवटै जिल्लाका पूर्वाधार विकास कार्यालय प्रमुखहरूसँग उच्चस्तरीय समीक्षा बैठक गर्दै विकास निर्माणका कामलाई तीव्र, पारदर्शी र जनमुखी बनाउन स्पष्ट तथा कडा निर्देशन दिनुभएको छ। मन्त्रालयमा बुधबार सम्पन्न उक्त बैठकलाई मधेश प्रदेशको पूर्वाधार विकास क्षेत्रमा नयाँ सन्देशका रूपमा हेरिएको छ।

बैठकमा मन्त्री समीरले आर्थिक वर्ष ०८२/०८३ अन्तर्गत सञ्चालनमा रहेका योजनाहरूलाई निर्धारित समयभित्र गुणस्तरीय ढंगले सम्पन्न गर्न निर्देशन दिँदै अब जनताले प्रत्यक्ष रूपमा विकास र सुशासनको अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो। उहाँले विगतमा देखिएको ढिलासुस्ती, कमजोर अनुगमन तथा निर्माण कार्यमा हुने लापरवाहीप्रति असन्तुष्टि व्यक्त गर्दै अब परिणाममुखी कार्यशैली आवश्यक रहेको स्पष्ट पार्नुभयो।

“सरकारप्रति जनताको विश्वास विकासको गति र कामको गुणस्तरले तय गर्छ, त्यसैले कुनै पनि योजना अलपत्र पर्ने अवस्था आउनु हुँदैन,” मन्त्री समीरको भनाइ उद्धृत गर्दै सहभागीहरूले बताएका छन्।

बैठकमा आगामी आर्थिक वर्ष ०८३/०८४ का योजनाबारे समेत विस्तृत छलफल भएको थियो। मन्त्री समीरले योजना छनोट गर्दा पहुँच, दबाब वा प्रभावका आधारमा होइन, जनताको वास्तविक आवश्यकता र क्षेत्रगत प्राथमिकतालाई केन्द्रमा राख्न निर्देशन दिनुभयो। उहाँले सडक, पुल, भवन लगायतका पूर्वाधार योजनालाई दिगो, सुरक्षित र दीर्घकालीन उपयोगी बनाउने गरी कार्ययोजना तयार गर्नुपर्नेमा विशेष जोड दिनुभयो।

त्यसैगरी निर्माण व्यवसायी, प्राविधिक कर्मचारी र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय अभावका कारण कतिपय योजना प्रभावित हुने गरेको उल्लेख गर्दै मन्त्री समीरले अब नियमित अनुगमन, जवाफदेहिता र पारदर्शितालाई अनिवार्य बनाइने स्पष्ट पार्नुभयो। अधुरा तथा वर्षौंदेखि रोकिएका योजनाहरूलाई प्राथमिकताका साथ सम्पन्न गर्न निर्देशन दिँदै उहाँले मधेश प्रदेशलाई पूर्वाधार विकासको हिसाबले उदाहरणीय प्रदेश बनाउने लक्ष्यसहित मन्त्रालय अघि बढिरहेको बताउनुभयो।

बैठकमा सहभागी आठवटै जिल्लाका कार्यालय प्रमुखहरूले आफ्ना जिल्लामा सञ्चालित योजनाको वर्तमान अवस्था, चुनौती तथा आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए। मन्त्री समीरले जनताको अपेक्षाअनुसारको सेवा र विकास दिन कर्मचारी संयन्त्र अझ जिम्मेवार, सक्रिय र उत्तरदायी बन्नुपर्ने धारणा राख्नुभएको थियो।

मन्त्री समीरको सक्रियता र स्पष्ट कार्यदिशाले मधेश प्रदेशको विकास निर्माण क्षेत्रमा नयाँ ऊर्जा थपिएको चर्चा प्रशासनिक तथा राजनीतिक वृत्तमा हुन थालेको छ। प्रदेश सरकार अब केवल घोषणा होइन, परिणाम दिने दिशातर्फ अघि बढ्न खोजेको संकेत यस बैठकले दिएको विश्लेषण गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button