मधेशसमाचार

दशगजामा दाहसंस्कार : राज्यको बेवास्ताले सीमामा पुगेको अन्तिम संस्कार

कलैया , १५ जेठ

सीमावर्ती गाउँ मटिअर्वामा एउटा यस्तो पीडा छ, जुन विकासका भाषणमा कहिल्यै सुनिँदैन। यहाँका नागरिकले जन्म नेपालमा लिन्छन्, जीवन नेपालमै बिताउँछन्, कर नेपाललाई तिर्छन्, तर मृत्यु भएपछि आफ्नै भूमिमा सम्मानपूर्वक दाहसंस्कार गर्ने ठाउँ पाउँदैनन्। परिणामतः उनीहरू वर्षौंदेखि नेपाल–भारत सीमास्थित दशगजा क्षेत्र र भारतीय भूभाग नजिक अन्त्येष्टि गर्न बाध्य छन्।

कलैया उपमहानगरपालिका–१० मटिअर्वाका स्थानीयका अनुसार नेपालतर्फ व्यवस्थित श्मशान घाट नहुँदा सीमाक्षेत्र नै अन्तिम विकल्प बनेको हो। स्थानीय बिन्दा राम, परशुराम प्रसाद सोनार र प्रमोद प्रसाद चौरसियाले दशकौँदेखि आदापुर, लालाछपरा र कटहरिया आसपासको भारतीय सीमाक्षेत्र नजिक दाहसंस्कार हुँदै आएको बताएका छन्।

तर प्रश्न केवल परम्पराको होइन, राज्यको जिम्मेवारी र सीमा सुरक्षासँग जोडिएको संवेदनशील विषयको पनि हो।

दशगजा कुनै सामान्य खाली जमिन होइन। यो नेपाल र भारतबीचको संवेदनशील सीमा रेखा हो, जहाँ स्थायी संरचना निर्माणदेखि सामान्य गतिविधिसम्म सुरक्षा निकायको निगरानी रहने गर्दछ। यस्ता क्षेत्रमा हुने धार्मिक तथा सामाजिक गतिविधिले भविष्यमा कानुनी जटिलता निम्त्याउन सक्ने जानकारहरू बताउँछन्।

स्थानीयवासीहरू भने आफूहरूलाई दोष दिनुभन्दा पहिले राज्यले आफ्नो दायित्व हेर्नुपर्ने बताउँछन्। “श्मशान घाट नै छैन भने मानिसले अन्तिम संस्कार कहाँ गर्ने ?” भन्ने उनीहरूको प्रतिप्रश्न छ।

वर्षौंदेखि जनप्रतिनिधि फेरिए, बजेट आए–गए, विकासका योजना घोषणा भए, तर मटिअर्वावासीको आधारभूत आवश्यकता भने अझै ओझेलमै छ। सडक, भवन र गेट निर्माणमा करोडौं खर्च गर्ने निकायले एउटा व्यवस्थित श्मशान घाट बनाउन नसक्नु विडम्बनापूर्ण भएको स्थानीयको गुनासो छ।

सीमाक्षेत्रमा दाहसंस्कार भइरहँदा भविष्यमा नेपाल–भारत सम्बन्ध, सीमा व्यवस्थापन तथा सुरक्षा संवेदनशीलतामा समेत प्रश्न उठ्न सक्ने सरोकारवालाहरू बताउँछन्। यस्ता विषयलाई समयमै समाधान नगरे स्थानीय परम्परा र कानुनी व्यवस्थाबीच द्वन्द्व बढ्न सक्ने चेतावनी समेत दिइएको छ।

स्थानीयवासीहरूको माग स्पष्ट छ—नेपालतर्फ सुरक्षित, व्यवस्थित र स्थायी श्मशान घाट निर्माण गरियोस्, ताकि नागरिकले मृत्यु पछि पनि आफ्नो देशमै सम्मानपूर्वक अन्तिम संस्कार पाउन सकून्।

मटिअर्वाको यो पीडाले एउटा गम्भीर प्रश्न उठाएको छ—राज्यले नागरिकलाई जीवनभर सेवा दिन नसके पनि, कम्तीमा मृत्युपछि सम्मानजनक बिदाइको व्य

वस्था गर्नुपर्ने होइन र ?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button