
रौतहट , १५ जेठ
जिल्लाको गढीमाई नगरपालिका वडा नं. ९ स्थित एक कुखुरा फार्ममा बिहीबार दिउँसो आगलागी हुँदा लाखौँको क्षति भएको छ।
गढीमाई–९ मलाही टोल बस्ने सुमिन्द्र सहनीले सोही नगरपालिकाको चिलमिलिया टोलमा संचालन गर्दै आएको कुखुरा फार्ममा दिउँसो करिब ४:३० बजेको समयमा अचानक आगलागी भएको हो। बिजुलीको तार सर्ट भएर सुरु भएको आगोले फुसले छाएको र बाँसको घेराबेरा भएको फार्मलाई पूर्ण रूपमा नष्ट गरेको छ।
आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बरियारपुरबाट प्रहरी सहायक निरीक्षक बिरेन्द्र यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीय बासिन्दाको अथक प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ। घटनास्थल प्रहरी चौकीबाट करिब २ किलोमिटर उत्तर-पश्चिम दूरीमा पर्दछ।
प्रहरीको प्रारम्भिक मुचुल्का अनुसार आगलागीबाट फार्म र भित्र रहेका काठका फर्निचरहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्। फार्ममा हाल कुखुराहरू नभएका कारण ठूलो पक्षी क्षति हुनबाट जोगिएको छ।
अनुमानित आर्थिक क्षति: करिब रु. ३,००,०००/- तीन लाख रुपैयाँ भएको हो।
विद्युत सर्ट भई हुने यस्ता आगलागीका घटनाप्रति सचेत रहन र फार्महरूमा अग्नि सुरक्षाका उपायहरू अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।



