
कलैया, १५जेठ
बारा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै फरार प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको जनाएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–३ का २२ वर्षीय श्यामबाबु चौधरी, बाराको बहुअरी गाउँपालिका–१ का ४२ वर्षीय उमेश साह तथा कलैया उपमहानगरपालिका–६ का ४० वर्षीय राजनन्द साह तेली रहेका छन्।
जिल्ला अदालत बाराबाट दोषी ठहर भई फरार रहेका उनीहरूलाई खोजतलासको क्रममा प्रहरीले पक्राउ गरेको जनाएको छ। पक्राउ परेका श्यामबाबु चौधरी कर्तव्य ज्यान मुद्दामा, उमेश साह बैंकिङ कसुर मुद्दामा तथा राजनन्द साह तेली ज्यान मार्ने उद्योग मुद्दामा सजाय तोकिएका व्यक्ति रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चौधरी र साहलाई चालु मुद्दामा पक्राउ गरिएको हो भने राजनन्द साह तेलीलाई ज्यान मार्ने उद्योग मुद्दामा अदालतले फैसला गरिसकेको थियो। फरार अवस्थामा रहेका उनीहरूलाई प्रहरीले विशेष अभियान सञ्चालन गरी पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले अदालतबाट फैसला भई फरार रहेका व्यक्तिहरूमाथि खोजी अभियानलाई तीव्र बनाइएको जानकारी दिएका छन्। पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत बारामा उपस्थित गराइएको प्रहरीले जनाएको छ।



