मधेशसमाचार

निर्माणस्थलमै मजदुरको मृत्यु : सुरक्षा लापरबाहीमाथि फेरि उठ्यो गम्भीर प्रश्न

पर्सा , १५ जेठ

घर निर्माण भइरहेको थियो, मजदुरहरू दैनिकजस्तै काममा व्यस्त थिए। तर केही सेकेन्डमै निर्माणस्थल दुर्घटनास्थलमा बदलियो। वीरगन्ज महानगरपालिका–६ मा निर्माणाधीन घरको पर्खाल भत्किँदा एक महिला मजदुरको ज्यान गएको घटनाले निर्माण क्षेत्रमा श्रमिक सुरक्षाको अवस्था फेरि प्रश्नको घेरामा परेको छ।

मृत्यु हुनेमा परवानीपुर गाउँपालिका–४ निवासी ३२ वर्षीया सीतादेवी मुसहर रहेकी छन्। उनी दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएकी मजदुर थिइन्।

प्रहरीका अनुसार ओम अग्रवालको निर्माणाधीन नयाँ घरमा बिहीबार दिउँसो अचानक इट्टाको पर्खालसँगै माथिल्लो भाग (टप) भत्किएर खसेको थियो। सोही क्रममा काम गरिरहेकी सीता भग्नावशेषमा च्यापिएकी थिइन्।

घटनापछि अन्य मजदुर र स्थानीयले तत्काल उद्धार गरी उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याएका थिए। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनापछि निर्माणस्थलको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरूका लागि सुरक्षा मापदण्ड कति पालना हुन्छ ? जोखिमयुक्त संरचनामा काम गराउँदा प्राविधिक निगरानी हुन्छ कि हुँदैन ? यस्ता प्रश्न फेरि सतहमा आएका छन्।

विशेषगरी दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरू न्यून पारिश्रमिकमा जोखिमपूर्ण वातावरणमा काम गर्न बाध्य हुने अवस्था अझै कायम रहेको श्रमिक अधिकारकर्मीहरू बताउँछन्। सुरक्षा उपकरणबिनै काम गराउने, कमजोर संरचनामा काम लगाउने तथा प्राविधिक परीक्षणबिनै निर्माण अघि बढाउने प्रवृत्तिले यस्ता दुर्घटना दोहोरिने गरेको उनीहरूको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत ले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरीले आवश्यक सोधपुछका लागि घरधनी अग्रवालका छोरालाई नियन्त्रणमा लिएको जनाएको छ।

सीतादेवीको मृत्यु केवल एउटा दुर्घटना होइन, निर्माण क्षेत्रमा श्रमिक सुरक्षाप्रतिको कमजोर संवेदनशीलताको कठोर उदाहरण बनेको स्थानीयको टिप्पणी छ।

दैनिक ज्यालादारी गरेर जीवन धान्ने श्रमिकहरू विकास निर्माणका आधार हुन्। तर उनीहरूकै सुरक्षालाई बेवास्ता गरिँदा निर्माणस्थलहरू रोजगारीको ठाउँभन्दा बढी जोखिमको थलो बन्दै गएको देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button